मौलिक नामाकरण सम्बन्धमा मध्यपुर थिमि र ललितपुर महानगरपालिकाबीच अनुभव आदानप्रदान

भक्तपुर, जेठ १०
मध्यपुर थिमि नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखिकरण र प्रतिस्थापन समितिले मंगलवार ललितपुर महानगरपालिकाको अवलोकन भ्रमण गरी आपसी अनुभव आदानप्रदान गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाका टोल बस्ती र स्थानको पुराना ऐतिहासिक मौलिक नाम संकलन गरी अभिलेखिकरण गर्ने र त्यसलाई पुनः प्रतिस्थापन गर्ने उद्देश्यले गठन गरेको समितिले भ्रमणका क्रममा ललितपुर महानगरपालिकामा भइरहेको टोलबस्ती र सडकको नामाकरणका साथै मेट्रिक घर नम्बरीङको कार्यका बारेमा आपसी अनुभव आदानप्रदानका गरेको हो ।


सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय कला सँस्कृतिको संरक्षण र संवद्र्धन गरी नगरमा पर्यटन विकासको योजना अघि बढेको सन्दर्भमा टोल बस्तीको नामाकरण पनि पुराना ऐतिहासिक मौलिक हुनुपर्ने भएकाले नगरपालिकाले मौलिक नाम संकलन अभिलेखिकरण र प्रतिस्थापनको योजना अघि बढाएको बताउनुभयो ।
उहाँले समितिको प्रतिवेदनको आधारमा आगामी नगरसभाबाट निर्णय गरी प्रतिवेदन कार्यान्वयनमा जाने तयारी भइरहेको जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाले गरेको भन्दा मध्यपुर थिमि नगरपालिकाले मौलिक नाम प्रतिस्थापनका लागि गहिरोसँग अध्ययन गरेको पाएको बताउनुभयो ।


उहाँले नगरका पुराना ऐतिहासिक बस्तीहरुमा नामकरणमा समस्या नभएपनि महानगरपालिका पछि गाभिएका साविक गाउँ विकास समितिका टोल बस्तीहरु जुन पछि बिस्तार भएका बस्तीहरुमा मौलिक नामाकरणमा समस्या भएको बताउनुभयो ।
छलफलमा मध्यपुर थिमिको मौलिक नामाकरण समितिका संयोजक राजेन्द्र श्रेष्ठले मध्यपुर थिमिमा मौलिक नामाकरणका लागि भईरहेको गतिविधि, विधि, प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो ।
यसैगरी ललितपुर महानगरपालिकाका ईं श्रीकुमार महर्जनले महानगरपालिकाले मेट्रिक घर नम्बरीङका लागि गरिएको गतिविधि र हालको अवस्था, यसको उपयोगिताका बारेमा विस्तृतमा प्रस्तुतीकरणमार्फत जानकारी दिनुभएको थियो ।