प्रादेशिक अस्पतालहरु मध्ये भक्तपुर अस्पताल सर्वोत्कृष्ट

भक्तपुर, जेठ ७
भक्तपुर अस्पताल प्रदेश स्तरिय अस्पतालहरु मध्ये सर्वोत्कृष्ट अस्पताल घोषित भएको छ । अस्पतालहरुको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्न गठित सरकारी समितिले शनिवार नतिजा सार्वजनिक गर्दै न्युनतम सेवा मापदण्डको मूल्यांकनमा ९७ अंक प्राप्त गरी भक्तपुर अस्पताल वर्ष २०७९ को सर्वोत्कृष्ट अस्पताल घोषित भएको जनाएको हो ।
अस्पताल व्यवस्थापन सुदृढिकरण अन्तर्गत न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा पवन साह, कान्ति बाल अस्पतालकी नर्सिङ्ग प्रमुख रोशनी तुइतुइ, स्वास्थ्य विभागकी मिरा निरौला लगायतको मूल्यांकन टोलीले मूल्यांकन गरेको थियो ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले भक्तपुर अस्पतालले एउटा स्वास्थ्य संस्थाको रुपमा मात्र नभई उपत्यकामा प्रदेश सरकारको प्रतिनिधित्व समेत गरिरहेको बताउनुभयो ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले संघीयता नहुँदा रिफर सेन्टरको रुपमा रहेको भक्तपुर अस्पताल आजको अवस्थामा पुग्नु संघीयताको एउटा उदाहरणीय उपलब्धी भएको बताउनुभयो ।
अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष रमण कायस्थले प्राप्त परिणामले काम गर्न अझ प्रेरित गरेको बताउनुभयो । उहाँले अस्पतालको सेवालाई थप जनमुखी र सुविधासम्पन्न बनाउन मूल्यांकनले हौसला प्रदान गरेको बताउनुभयो ।
अस्पतालकी मेडिकल सुपरिण्टेण्डेण्ट डा. सुमित्रा गौतमले समितिले अस्पतालका सिंगो टिमको सहि मूल्यांकन गरेको प्रतिक्रिया दिँदैं अस्पतालको सेवा र विकासको बिषयमा सामूहिक प्रयास भएको बताउनुभयो । उहाँले सबै स्टाफको मिहिनेतले उत्कृष्ट नतिजा प्राप्त भएको र यसलाई अझ बढाउदै जाने प्रतिवद्धता जनाउनुभयो ।
भक्तपुर अस्पताल भक्तपुरबासीको अस्पताल मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकावासी जनताकै रोजाइको अस्पताल बन्ने पर्याप्त आधार देखिएको बताउदै कान्ति बाल अस्पतालकी नर्सिङ्ग प्रमुख रोशनी तुइतुइले यस अस्पताललाई ‘सेकेण्डरी ए’ लेभल पूरा भैसकेकोले त्यो भन्दा माथिल्लो तहमा स्तर बृद्धि गर्न सुझाव दिनुभयो ।
विक्रम सम्बत १९६१मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट शुरु भएको भक्तपुर अस्पताल वीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल हो । भौतिक पूर्वाधारसँगै स्वास्थ्य सुविधाको हिसावले पछि पारिएको यो अस्पताल संघीयता कार्यान्वयनसँगै प्रदेश सरकार मातहत आएपछि यसले काँचुली फेर्न थालिएको हो ।
कोभिड महामारीसँगै अस्पतालहरुको सेवा बृद्धि गर्ने क्रममा स्थापनाको ११६ वर्षपछि भक्तपुर अस्पतालमा आईसीयु सञ्चालनमा आएको थियो । कोभिड महामारीमा उत्कृष्ट सेवा दिन सफल यस अस्पतालले सोही बेलादेखी जनताको विश्वास जित्न सफल हुनुका साथै पुर्वाधार विकासको अवसर पनि प्राप्त गरेको थियो ।
स्वास्थ्य बिमाका कारणले समेत बिरामीको चाप बढ्न थालेपछि प्रदेश सरकारले भक्तपुर अस्पतालको विकास र सेवा बिस्तारमा विशेष ध्यान दिन थालेपछि यसले मुहार फेरेको हो । यसमा मेसु गौतमको विशेष पहल रहेको छ ।
यस अस्पतालमा हाल दैनिक करिव ८ सय बिरामी उपचारका लागि आउने गर्दछन । यस अस्पतालमा बिर्सने रोग अल्जाइमर्सको निःशुल्क उपचार हुने गर्दछ । भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम समेत शुरु भएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचानका लागि परीक्षण, परामर्श र व्यवस्थापन सम्बन्धी सेवा निःशुल्क प्रदान गरिन्छ ।