ईनारमा खसेकी महिलाको सकुशल उद्धार

भक्तपुर, जेठ ७
मध्यपुर थिमि–६ पुरानो थिमिमा ईनारमा खसेकी एक महिलाको शनिवार प्रहरीले सकुशल उद्धार गरिएको छ । स्थानीय मिलन प्रजापतिको घर कम्पाउण्डमा रहेको ईनारमा खसेकी दोलखा गौरीशंकर गाउँपालिका–३ घर भई हाल मध्यपुर थिमि–४ दुईपोखरी बस्ने ३२ वर्षिया गीतादेवी बस्नेतको प्रहरीले सकुशल उद्धार गरेको हो । बस्नेत प्रजापतिको घरमा माटोको गमला बनाउने काम गर्ने मजदुर हुन ।
ईनारमा महिला खसेको जानकारी प्राप्त गरेपछि प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठको नेतृत्वमा १५ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले नाइलनको डोरीसहित उद्धार सामग्रीको सहयोगमा महिलालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक प्रजित केसीले बताउनुभयो ।
घाईते महिलालाई दाहीने हातको कान्छी औंला छिनेको, दुबै गालामा धस्रेको, निधारमा काटेको चोट लागेको र बोल्न सक्ने अवस्थामा उपचारका लागि मध्यपुर अस्पताल लगिएको एसपी केसीले बताउनुभयो ।