जनज्योति पुस्तकालयमा ई—लाइब्रेरी शुरु

भक्तपुर, जेठ ६
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयमा ई–लाईब्ररीको शुभारम्भ भएको छ । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु पद बहाल भएको एक वर्ष पुगेको अवसरमा शनिवारदेखी जनज्योती पुस्तकालयमा ई–लाईब्ररी शुभारम्भ गरिएको हो ।
सो अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले २१ औं शताब्दीको डिजिटल युगमा सूचना र प्रविधिसँग कोही पनि अछुटो रहन नसक्ने बताउँदै अनलाइनमाध्यमको प्रयोगसँगै अधुसन्धानकर्ताहरुलाई सहज र अध्ययनको दायरा बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
अनलाइन सञ्चारमाध्यममा राखिएका तथ्य तथ्यांक सँधै सत्य नहुन सक्छन् भन्दै उहाँले इन्टरनेटमा राखिएका तथ्यहरुलाई आलोचनात्मक व्याख्या गरी जनतालाई साँचो सूचना प्रवाह गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीले भुटानी शरणार्थीलाई भुटानमै फर्काउनुपर्नेमा निरन्तर जोड दिँदै आएको बताउँदै सांसद सुवालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ पुस्तालाई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले जनज्योति पुस्तकालयको स्तरोन्नतिलाई ध्यानमा राख्दै इ लाइब्रेरीको शुरुवात गरिएको बताउनुभयो ।
उहाँले जिल्ला जिल्लाका धेरै पुस्तकालय बन्द हुने अवस्थामा भक्तपुर नपाले जनज्योति पुस्तकालयलाई अझ सुविधा सम्पन्न र व्यवस्थित बनाउने काम गरेसँगै पाठकहरु उत्साहित बनेको बताउनुभयो । इ–लाइब्रेरी स्थापनासँगै खोज तथा अनुसन्धान गर्नेहरुको निम्ति यसबाट निकै सहज हुने बताउँदै उहाँले भक्तपुर नपाको सन्तुलित विकास गर्ने उद्देश्यअनुसार नपाले काम गर्दै आइरहेको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य सृजना सैंजुले पुस्तक अध्ययनले सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै ई–लाइब्रेरीको शुभारम्भसँगै अध्ययन अनुसन्धान तथा उच्च शिक्षा अध्ययन गर्ने नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी लाभान्वित हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले २१ औं शताब्दीमा सूचना र प्रविधिमा अगाडि बढ्नु अपरिहार्य भएको बताउँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन यस किसिमको गतिविधिले टेवा पुर्याउछ भन्नुभयो । उहाँले इ लाइब्रेरी शुभारम्भसँगै विज्ञानसम्मत समाज निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा जनज्योति पुस्तकालयका शाखा प्रमुख भूपाल मूलले पुस्तकालयको इतिहास र महत्वमाथि प्रष्ट पार्दै समयको मागअनुसार जनज्योति पुस्तकालयले इ लाइब्रेरीलाई अगाडि बढाएको हो भन्नुभयो ।