जनप्रतिनिधिहरु एम्बुलेन्स र दमकल जस्तै खट्नुपर्छ – अध्यक्ष बिजुक्छें

भक्तपुर, जेठ ६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले जनप्रतिनिधि तथा कर्मचारीहरु आफ्ना नागरिकहरुको हितमा एम्बुलेन्स र दमकल जस्तै चौबिसैं घण्टा खट्नुपर्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु पद बहाल भएको एक वर्ष पुरा भएको अवसरमा शनिवार आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेंले देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै राजनीतिको मुख्य उद्देश्य भएको बताउँदै सो धारणा राख्नुभएको हो ।
नगरपालिकाका कर्मचारीहरुले आफ्ना सेवाग्राहीप्रति गरिने भाषा र व्यवहारमा सुधार गर्नुपर्ने सुझाव दिँदैं उहाँले कर्मचारीहरुले १० देखि ५ बजेसम्म काम गर्ने भावना त्यागी कार्यालयको आवश्यकताअनुसार काम गर्ने भावनाबाट प्रेरित हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयको स्तरोन्नति सँगै नगरपालिकाले नगरका वडा वडाहरुमा रहेको पुस्तकालयहरुको पनि सुधारमा आवश्यक पहल गर्नुपर्ने बताउँदै उहाँले भक्तपुर विशिष्ट पाहुनाहरुले अवलोकन गर्ने राजधानी सहर भएको हुँदा यो सहरलाई सँधै सफा र सुग्घर राख्नुपर्ने सुझाव दिनुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका उच्च पदस्थ व्यक्तिहरुको संलग्नता हुनु देशकै लागि दुर्भाग्यको विषय भएको बताउँदै उहाँले यो देशद्रोही कदम हो र यस प्रकरणका दोषीलाई कडाभन्दा कडा कारबाही गरी जनतामाझ उदांग्याउनु जरुरी रहेको बताउनुभयो ।
राजनीतिक कार्यकर्ताहरुले कसैको दबाब र प्रभावमा काम गर्दा देश नै दुर्घटनाग्रस्त हुने उदाहरण दिँदै अध्यक्ष बिजुक्छेँले विदेशी शक्तिसामु झुक्ने शासकहरूको प्रवृत्तिले गर्दा नेपाल साम्राज्यवादीहरुको जालोमा फस्दै गइरहेको स्पष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको वार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न चुनौतीहरुबीच निर्वाचनमा जनतासमक्ष घोषणापत्रमार्फत गरेका प्रतिबद्धता पूरा गर्न भक्तपुर नपा कटिबद्ध भइ लागिरहेको बताउनुभयो ।
उहाँले नेपालमा संघीयता कार्यान्वयनपछि संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी आवश्यकताअनुसार ऐन, नियम, विनियम र कार्यविधि बनाई व्यापक जनताको हितमा काम गर्दै आएको बताउनुभयो ।
भक्तपुरका जनताले गरेका मिहिनेत, परिश्रम र योगदानलाई जिल्ला जिल्लाका जनताले सूक्ष्म ढंगले हेरिरहेको बताउँदै उहाँले नगरपालिकाले संघीयताको मर्म र भावनाअनुसार निरन्तर जनताको सेवामा समर्पित हुँदै समाजवादउन्मुख काम गर्र्दै आएको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर मौलिकता जोगाउन सफल संसारकै एक आकर्षक सहरको रुपमा अगाडि बढिरहेको बताउँदै दृश्य प्रदूषणबाट मुक्त हुन सके भक्तपुर अझ सुन्दर र आकर्षक बन्नेमा जोड दिनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले २१ औं शताब्दीको विकसित र सुसंस्कृत समाज प्रतिस्थापन गर्न नगरपालिका निरन्तर क्रियाशील रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय सरकार जनताको नजिकको सरकार रहेको बताउँदै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी जनताको हितमा अझ सशक्त ढंगले काम गर्न सुझाव दिनुभयो ।
कानुन अध्ययन समाज, नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिले भक्तपुर नगरपालिका स्थानीय सरकारको नमुना स्थानीय तहको रुपमा रहेको बताउनुभयो ।
ख्वप ई. कलेज प्राचार्य सुजन माकले कलेज स्थापनादेखि हालसम्ममा भक्तपुर नपाका १ हजार ८५५ जना विद्यार्थीले विविध विषयमा ई. अध्ययन गर्ने अवसरमा प्राप्त गरेको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले विगत ९ महिनामा ख्वप अस्पतालले १ लाख ७९ हजार बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको तथ्यांक प्रस्तुत गर्दै अस्पतालले प्रसुती सेवाको पनि बिस्तार गरिसकेको अवगत गराउनुभयो ।