मध्यपुर थिमिको पर्यटन विकासका लागि कार्यविधि निर्माण गरी अघि बढ्ने – नगरप्रमुख श्रेष्ठ

भक्तपुर, जेठ ६
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरमा पर्यटन उद्योगको विकासका लागि नगरको सम्पदा र यहाँको मौलिक कला संस्कृतिलाई एकिकृतरुपमा प्रवद्र्धन गर्ने बताउनुभयो । मध्यपुर पर्यटन विकास समितिको संयोजनमा मध्यपुर थिमि नगरपालिकाले शनिवार निगुपुखुःमा आयोजित वः फेस्टिबलमा नगरप्रमुख श्रेष्ठले पर्यटन उद्योगको विकासका लागि नगरको सम्पदा र यहाँको मौलिक कला संस्कृतिलाई एकिकृतरुपमा प्रवद्र्धन गर्न कार्यविधि निर्माण गरी अघि बढ्ने बताउनुभएको हो ।
उहाँले मध्यपुर थिमिमा होमस्टे, साँस्कृतिक पदमार्ग र यहाँको माटोको भाँडा बनाउने, सेरामिक्सलागायत मौलिक पेशाको संरक्षण गरी यसको प्रवद्र्धन गर्दै पर्यटन उद्योगलाई मध्यपुर बासीको आयआर्जनसँग जोडेर लाने बताउनुभयो । मध्यपुर थिमिको अन्य मौलिक उत्पादनलाई समेत प्रवद्र्धन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।


उहाँले यसै वर्ष मध्यपुर महोत्सव गर्ने नीति लिएपनि विविध कारणले सम्भव नभएको स्पष्ट पार्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ मा विज्ञहरुसँगको सरसल्लाहमा महोत्सव आयोजना गरिने बताउनुभयो ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरबासीलाई स्वरोजगार बनाउन नगरपालिकाले यो वर्षमात्र विभिन्न तालिमका लागि ७० लाख भन्दा बढी रकम विनियोजन गरी कार्य भइरहेको बताउनुभयो ।

कार्यक्रममा प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेवारी सँस्कृतिमा वः जन्मदेखी मृत्युसम्मको संस्कारमा आवश्यक भएको परिकार रहेको बताउनुभयो । उहाँले मध्यपुर थिमि क्षेत्रको थिम्रिङ र बोस्रिङ ग्राम किँरातकालिन बस्ती भएको ऐतिहासिक तथ्य रहेको उल्लेख गर्दै यहाँको मौलिक जात्रापर्व, कला सँस्कृति जीवन्त राख्न नगरपालिकाले गरेको प्रयासको प्रशंसा गर्नुभयो ।


वडा नं. ४ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठले नगरबासीको आर्थिक उन्नतीका लागि आवश्यक सहयोग गर्न नगरपालिका सधैं तयार रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापतिले मेला महोत्सवले यहाँको मौलिक कला सास्कृतिक स्वदेश र विदेशमा परिचित गराउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई राजनीतिक पुर्वाग्रह नराखी सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा समितिका सदस्य एवम् वः फेस्टिबलका संयोजक कविदास प्रजापतिले वः बारे कार्यपत्र प्रस्तुत गर्दै नेवारी समूदायमा प्रचलित वः का प्रकार, यसको महत्व, उत्पत्तिलगायतका विषयमा प्रष्ट पार्नुभएको थियो ।


कार्यक्रममा समितिका संयोजक रमेश प्रजापति र सचिव राजेश श्रेष्ठले फेस्टिबलको उद्देश्यबारे स्पष्ट पार्नुभएको थियो ।
फेस्टिबलमा नेवारी मौलिक परिकार वःका साथै सम्ये बजी, यमरी, च्याउका परिकारका स्टलका साथै मध्यपुर थिमिको मौलिक उत्पादन टिकःबजी, सेरामिक्स, पाउँलगायतका स्टल समेत रहेको छ । साथै माटोको भाँडा बनाउने कला प्रदर्शनी गरिएको थियो । फेस्टिबलमा साँझ विभिन्न साँस्कृतिक र सांगेतिक कार्यक्रम आयोजना गरी मनोरञ्जन प्रदान गरिएको थियो ।