नगरबासीको सुरक्षाको सम्बन्धमा कुनै पनि सम्झौता हुँदैन – नगरप्रमुख खत्री

भक्तपुर, जेठ ६
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विपदबाट हुने जोखिममा नगरबासीको सुरक्षाको सम्बन्धमा कुनै पनि सम्झौता नहुने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २२ गण हे. क्वा. गुहेश्वरी दुवाकोटको आयोजनामा चाँगुनारायण नगरपालिका ४ साङदहमा शुक्रवार आयोजित ‘मौसमी प्रकोप प्रतिकार्य अभ्यास भाग १’ को प्रदर्शनीमा नगरप्रमुख खत्रीले सबै सरोकारवाला निकायको सहकार्यमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरी विपदको जोखिमबाट नगरवासीको सुरक्षामा कुनै सम्झौता नगर्ने बताउनुभएको हो ।


उहाँले समूदायलाई उत्थानशील बनाउने कार्यमा नगरस्तरीय विपद जोखिम न्यूनीकरण रणनीतिक योजना, विपद पूर्ण तयारी तथा प्रतिकार्य योजना र स्थानीय विपद उत्थानशील बमोजिम सबै सरोकारवाला निकायहरुसँगको सहकार्य विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विभिन्न संघसंस्थाको सहयोगमा सञ्चालित परियोजनाहरु मार्फत नगरस्तरमा रहेका खुल्ला क्षेत्रको पहिचान र नक्सांकन, हेल्मेट डाँडामा आश्रयस्थल निर्माण उद्धार सामग्री भण्डारण गरिएको जानकारी दिँदैं उहाँले विपद जोखिम न्यूनीकरणका लागि नगरले २३ जना तालिम प्राप्त डकर्मी, अग्नी नियन्त्रण र सामुदायिक खोज तथा उद्धार प्राथमिक उपचारक ८१ जना गरी १०४ जना जनशक्ति तयार गरेको बताउनुभयो ।


विपद जोखिम न्यूनीकरणका लागि नगरस्तरीय आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना, वडा वडामा विपद व्यवस्थापन समिति गठन, एक करोड रुपैंयाको विपद व्यवस्थापन कोष स्थापना, जुद्ध वारुण यन्त्र सञ्चालनमा सहयोग, ३ वटा एम्बुलेन्स सञ्चालन गरी विपद सम्बन्धी संगठनात्मक संरचना तथा गतिविधिहरु सञ्चालन गर्दै आएको नगरप्रमुख खत्रीले बताउनुभयो ।
उहाँले चाँगुनारायण नगरपालिका विपदको कारण समय समयमा प्रभावित हुने गरेको उल्लेख गर्दै यहाँ भूकम्प, बाढी पहिरो आगलागी, सडक दुर्घटना, महामारी जस्ता विपदले धनजनको क्षती हुने गरेको बताउनुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले विपद बाजा बजाएर नआउने भएपनि मौसमी विपद अनुमान लगाउन सकिने भएकाले पूर्व तयारी भए त्यस्ता विपद जोखिमबाट हुने क्षती ५० प्रतिशत कम हुने विश्वास व्यक्त गर्नुभयो ।
पूर्व तयारी विपदको व्यवस्थापनमा सहज हुने बताउँदैं प्रजिअ रिजालले मौसमी प्रकोप प्रतिकार्य अभ्यासले खोज तथा उद्धारकर्ताको क्षमता अभिबृद्धि हुने, विपद व्यवस्थापनको क्षमता बृद्धि हुने र विपद व्यवस्थापन गर्ने निकायबीच समन्वय, सहकार्य गर्न सहज बनाउन सकिने धारणा राख्नुभयो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपति बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक विनोदराज श्रेष्ठले एक निकायको प्रयासले मात्र विपद व्यवस्थापन प्रयाप्त नहुने बताउँदैं समय समयमा गरिने अभ्यासले विपद व्यवस्थापनमा थप प्रभावकारिता ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।


सशस्त्र प्रहरी बल नेपाल नं. २२ गण हे. क्वा. गुहेश्वरी दुवाकोटका गण्पति सशस्त्र प्रहरी उपरिक्षक दिनेश कुमार महतले विपद व्यवस्थापनमा आपसी सहकार्य र समन्वयको खाँचो रहेको औंल्याउँदैें स्थानीय तहले विपद व्यवस्थापनमा आवश्यक सहयोग गरे विपदको जोखिम न्यूनीकरण गर्न सहयोगी हुने धारणा राख्नुभयो ।
सो अवसरमा ५ दिने तालिममा सिकेका ज्ञान र सिपको उपयोग गरी अभ्यासमा सहभागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाईटी, जुद्ध वारुण यन्त्र कार्यालयका कर्मचारी एवम् सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका, खोँचमा फसेका र आगलागीका घटनामा फसेकाहरुको उद्धार गरी सुरक्षित रुपमा घटनास्थलमा घाईते पिडितको प्राथमिक उपचार समेत गरी उनीहरुलाई सुरक्षित रुपमा थप उपचारका लागि अस्पताल लगिएको प्रदर्शनी गरिएको थियो । साथै तालिममा सहभागी प्रशिक्षार्थी, सहयोगी संघसंस्था र समन्वयकारी निकायलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।