थिमिको निगु पुखुःमा जेठ ६ गते वः फेस्टिबल हुने

भक्तपुर, बैशाख ३१
मध्यपुर थिमिको वडा नं. ४ स्थित निगु पुखुःमा आउँदो जेठ ६ गते शनिवार नेवारी मौलिक परिकार वः फेस्टिबल हुने भएको छ । नेवारी मौलिक पर्व सिथि नखःको अवसरमा मध्यपुर थिमि नगरपालिकाको आयोजनामा मध्यपुर पर्यटन विकास समितिको संयोजनमा सो फेस्टिबल हुन लागेको हो । यसवर्षको सिथि नखः यही जेठ ११ गते सोमवार मनाईंदैछ ।
नेवाः समुदायको विशिष्टकृत परिकार वः मास, मुगी तथा अन्य विभिन्न गेडागुडी सफा गरी भिजाइ त्यसपछि पिसेर टावामा विभिन्न आकार प्रकारमा पकाएर तयार गरिने परिकार हो । यसमा स्वाद अनुसार अण्डा, मासु समेत राखी बनाउन सकिन्छ ।
फेस्टिबलबारे आइतवार आयोजित पत्रकार सम्मेलनमा मध्यपुर पर्यटन विकास समितिका अध्यक्ष रमेश प्रजापतिले मध्यपुर थिमिको पर्यटकिय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरी पर्यटन मार्फत स्थानीयलाई आय आर्जनसँग जोड्ने उद्देश्यले सिथि नखः पर्वको पुर्व सन्ध्यामा वः फेस्टिबल आयोजना गर्न लागिएको बताउनुभयो ।
फेस्टिबलमा १५ वटा खानाको स्थल र १० वटा मध्यपुर थिमिको स्थानीय उत्पादनका स्टल रहनेछ । यसका साथै दिनभरी नै नेवारी संस्कृतिलगायत अन्य गीत संगितले मनोरञ्जन गराउने व्यवस्था गरिएको प्रजापतिले बताउनुभयो ।
फेस्टिबलमा काठमाण्डौं उपत्यकाका ख्याति प्राप्त नेवारी रेस्टुरेन्टहरुलगायत यहाँका स्थानीय आमा तथा महिला समुह लगायतले वःसँगै विभिन्न नेवारी परिकारहरु पस्कनेछन ।
फेस्टिबल बिहान १० बजेदेखी साँझ ७ बजेसम्म निरन्तर सञ्चालन हुने बताउँदैं मध्यपुर पर्यटन विकास समितिका सचिव शिव सुन्दर श्रेष्ठले फेस्टिबलमा सहभागिताका लागि स्थानीय विद्यालय, कलेज, सहकारी तथा अन्य विभिन्न संघसंस्थालाई अग्रीम बुकिङका लागि कुपनको व्यवस्था गरिएको बताउनुभयो ।

लिच्छवी र मल्ल कालदेखी नै नेवार समुदायको विभिन्न चाडवाडमा र जीवनका विभिन्न सुख दुःखमा समेत वः प्रयोग प्रचलनमा रहेको छ । फेस्टिबलमा वः को महत्व, यसका प्रकार र यसको उपयोगको ईतिहासका बारेमा कार्यपत्र समेत प्रस्तुत गरिने छ । यसका लागि विज्ञहरुले कार्यपत्र तयारी गरिरहेको सचिव श्रेष्ठले बताउनुभयो ।
पत्रकार सम्मेलनमा मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले फेस्टिबलले मध्यपुरका जनतालाइ आय आर्जन गराउने र समृद्ध मध्यपुर बनाउने अभियानलाई सार्थक बनाउने विश्वास व्यक्त गर्नुभयो ।
मध्यपुर थिमिमा आकर्षण कला संस्कृति र सम्पदा, कलात्मक मठ मन्दिर, पाटी पौवा, सत्तल, बिहार र कैयौ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुताको बस्ती र स्मारक क्षेत्र रहेको बताउँदैं वडाअध्यक्ष श्रेष्ठले त्यसलाई देश विदेशको कुनाकाप्चा पु¥याइ यहाँको पर्यटन विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
मध्यपुर थिमिको माटोको भाँडो बनाउने, सेरामिक्स र अनेकौं हस्तकलालाइ संरक्षण गरी त्यसलाई पर्यटकिय गन्तव्य बनाउने उद्देश्यमा फेस्टिबलले सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले मध्यपुर थिमिमा पर्यटनको विकास र बिस्तारका लागि यहाँको मौलिक कला संस्कृतिका साथै सम्पदाहरुको प्याकेज तयार गरी पर्यटनसँग सम्बन्धीत विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले फेस्टिबललाई सफल बनाउन र फेस्टिबलमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न काठमाण्डौं, ललितपुर र बनेपालगायतका स्थानका स्थानीय संघ संस्थासँग पनि सहकार्य हुनुपर्ने बताउनुभयो ।