भक्तपुरको चुनदेवीस्थित फर्निचर उद्योगमा भिषण आगलागी, क्षती विवरण आउन बाँकी

भक्तपुर, बैशाख ३१
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित एक फर्निचर उद्योगमा आइतवार राती भिषण आगलागी भएको छ । साँझ करिव ७ बजे लागेको आगो करिव साढे ९ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट फर्निचर उद्योग जलेर पूर्ण नष्ट भएको र सँगै रहेको चार तल्ले घरको दुई तल्लामा क्षती भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।


आगलागी नियन्त्रणका लागि भक्तपुरका दुई, काठमाण्डौंको एक र ललितपुरको एक गरी चार वटा दमकल प्रयोग गरिएको थियो । साथै प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय बासिन्दा आगो नियन्त्रणमा जुटेका थिए ।
आगलागीको क्षतीको विवरण संकलन भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउनुभयो । आगलागीमा मानवीय क्षती नभएको उहाँले बताउनुभयो । अचानक हावाहुरीसहितको वर्षाले आगलागी नियन्त्रणका केही कठिनाई भएपनि हावाहुरी रोकिएपछि परेको वर्षाले भने आगलागी नियन्त्रणका लागि सहज भएको उहाँले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।