नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै

भक्तपुर बैशाख ३१
सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाउँदैछ । यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको हो ।
सोही अनुसार देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ ।
मन्त्रालयले आज पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिन लागेको हो । रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका उमेरका बालबालिकालाई सरकारले १३ प्रकारको खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।
यसै अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई आग्रह गर्नुभएको छ । मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन आग्रह गर्नुभएको हो ।
नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको तथा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको तथ्यांक रहेको छ ।