दिव्यश्वरी सेवा समितिको अध्यक्षमा केदार खड्का सर्वसम्मत चयन

भक्तपुर, बैशाख ३०
मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीस्थित दिव्यश्वरी सेवा समितिको अध्यक्षमा केदार खड्का सर्वसम्मत चयन हुनुभएको छ । समितिको शनिवार सम्पन्न साधारण सभाले खड्कालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । खड्का यसअघि सल्लाहकार हुनुहुन्थ्यो ।
सभाले समितिको प्रथम उपाध्यक्षमा विजयकृष्ण खड्का, द्धितिय उपाध्यक्षमा जगतकृष्ण प्रजापतिलाई पुनः सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक श्रीकृष्ण नेपालले जानकारी दिनुभयो ।


यसैगरी समितिको महासचिवमा बालकृष्ण प्रजापति, सचिवमा रघुनाथ खड्का, कोषाध्यक्षमा पुरुषोत्तम खड्का सर्वसम्मत चयन भएका छन । समितिको सदस्य विकास आचार्य, आशलाल प्रजापति, विकु कुमाल, रमेश प्रजापति, अर्जुन कार्की, गोकुल खड्का र सनोजकुमार भट्टराई सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक नेपालले बताउनुभयो ।
यसअघि साधारण सभाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिका वडा नं. १ का वडाअध्यक्ष बाबुकाजी डंगोलले नगरकै एउटा महत्वपूर्ण पुरातात्विक सम्पदाको रुपमा रहेको दिव्यश्वरी मन्दिरको संरक्षण र सो स्थानको भौतिक संरचनाको पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षको नगरपालिकाको बजेटमा योजना प्रस्ताव गरिने यसमा सबैको सहयोगको खाँचो रहेको बताउनुभयो ।


उहाँले नगरका अन्य स्थानका सम्पदाले पुनर्जीवन पाइसकेको अवस्थामा अब दिव्यश्वरी मन्दिर परिसरको पुनर्निर्माणका वडाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा समितिका नवनिर्वाचित अध्यक्ष केदार खड्काले आफ्नो कार्यकालमा दिव्यश्वरी मन्दिरको गुरुयोजनालाई पूर्णता दिई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । “नगरपालिका भइ सकेपछि नगरका अन्य क्षेत्रका सम्पदा पुनर्निर्माणको कार्य सम्पन्न भइसकेको छ । अन्य स्थानमा जाँदा त्यहाँको परिवर्तन देख्दा र यहाँको अवस्था देख्दा साँच्चै हामी पछाडी परेको अनुभुती हुन्छ । अब सबैको साझा प्रयासमा यहाँको अवस्था पनि गर्व गर्न लायक बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले तान्त्रिक विधि विधानबाट स्थापना गरिएको सम्भवतः देशको एक मात्र बली नखाने भगवती दिव्यश्वरी भएको दावी गर्दै यहाँ मेला लाग्ने वातावरण निर्माण गर्न सके समग्र लोहकिल्थलीकै विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


समितिका सल्लाहकार विनोद आचार्यले दिव्यश्वरी मन्दिर परिसरको मौलिक स्वरुपको वर्णन गर्दै पञ्चायतकालिन समयमा कृषकलाई मल वितरण गर्न, घरेलुको कार्यक्रम सञ्चालन गर्नलगायतका प्रयोजनमा मन्दिर परिसरमा भवन निर्माण भइ अहिलेको स्वरुपमा आएको चर्चा गर्नुभयो ।
साधारण सभाको सभापति प्रेम बहादुर खड्काले मन्दिरको कोषको संरक्षण गरी वार्षिक पर्वपुजा लगायत दैनिक नित्यपुजा सञ्चालन गर्दै आएको जानकारी दिँदैं नयाँ नेतृत्वले मन्दिरको कोष नमास्न र त्यसमा थप बृद्धि गर्न सुझाव दिनुभयो । उहाँले यहाँको विकासका लागि गरिने हरेक कार्यमा साथ सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
साधारणसभाले कोषाध्यक्ष पुरुषोत्तम खड्काले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो । कार्यक्रममा प्रथम उपाध्यक्ष विजयकृष्ण खड्का, द्धितिय उपाध्यक्ष जगतकृष्ण प्रजापतिले मध्यपुर थिमि सम्पदा संरक्षणमा अग्रणी पालिकाको रुपमा अघि बढेको सन्दर्भमा वडा नं. १ स्थित दिव्यश्वरी मन्दिर परिसरको संरक्षणमा नगरपालिकाले चासो नदिनु गलत भएको बताउँदैं आगामी वर्षको नीति तथा कार्यक्रम बजेटमा नगरपालिकाले सम्बोधन गर्नुपर्ने माग राख्नुभयो ।