नसर्ने रोगको प्रकोप न्युनिकरणका लागि आयुर्वेद स्वास्थ्य केन्दमा निःशुल्क स्वास्थ्य परिक्षण

भक्तपुर, बैशाख २९
नसर्ने रोगको प्रकोप न्युनिकरणका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर र मातहतका ३ वटा नागरिक आरोग्य सेवा केन्द्रमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य’ कार्यक्रम सञ्चालनमा आएको छ । ३० वर्ष माथिका उमेर समुहका नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरी नसर्ने रोगको अवस्था पत्ता लगाई समयमा उपचारको दायरामा ल्याई यस्ता रोगको प्रकोप न्युनिकरणका लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
कार्यक्रम अन्तर्गत यही बैशाख ३१ गतेदेखी प्रत्येक हप्ताको आइतवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायकमा बिहान ८ बजे देखि १० बजे सम्म नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरिने केन्द्रका प्रमुख डा. नरेन्द्र ओलीले जानकारी दिनुभयो ।
कार्यक्रममा चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै रगत, मधुमेह, रक्तचाप, मृगौला, कलेजो, पिसावलगायतको जाँच गरी कुनै नसर्ने रोग देखिएमा बिरामीहरुलाई निःशुल्क उपचार तथा खानपान तथा जीवनशैली ब्यवस्थापन, रोग अनुसारको योग तथा ब्यायामका बारेमा बिशेष परामर्श उपलब्ध गराईनेछ । थप परीक्षण तथा थप उपचार आवश्यक पर्ने बिरामीहरुलाई निःशुल्क परीक्षण तथा उपचार हुने तवरबाट माथिल्ला प्रादेशिक तथा बिशिष्टिकृत अस्पतालहरुमा प्रेषण गरिने डा. ओलीले बताउनुभयो ।
यसैगरी कार्यक्रम अन्तर्गत नै चाँगुनारायण नगरपालिका–०७ बागेश्वरी, भक्तपुर नगरपालिका–०६, चोछें र सुर्यबिनायक नगरपालिका–१०, चित्तपोलमा संचालनरत नागरिक आरोग्य सेवा केन्द्रहरुमा भने बैशाख ३१ गते देखि प्रत्येक हप्ताको आईतवारका दिन बिहान १० बजे देखी अपरान्ह ३ बजे सम्म स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ ।
सेवा केन्द्रमा स्वास्थ्य परीक्षण अन्तर्गत शारीरिक परीक्षण, रक्तचाप, मधुमेह, पिसावको परीक्षण तथा उचाई अनुसारको शारीरिक तौलको परीक्षण गरिनेछ र आवश्यकता अनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलगायतका माथिल्ला स्वास्थ्य संस्थामा थप उपचारका लागि प्रेषण गर्ने व्यवस्था गरिएको छ ।
नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी प्रमुख नसर्ने रोगहरुको समयमा नै पहिचान गरी आवश्यक उपचार गरी नसर्ने रोगको प्रकोप न्यूनीकरण तथा नागरिकको स्वास्थ्य प्रवर्धनको उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको ओलीले बताउनुभयो ।
नसर्ने रोगको प्रकोप विकराल रुपमा बृद्धि भएको र यसबाट स्वास्थ्यका लागि गरिने बढ्दो खर्च धान्न नागरिकलाई आर्थिकरुपमा पनि बोझिलो हुँदैं गएकोले समयमा नै नसर्ने रोगको पहिचान, परामर्श तथा उपचार गर्न सकेमा ती रोगहरुको नियन्त्रण र हुन सक्ने जटिलताहरुको प्रतिकार गर्न सकिने हुनाले बागमती प्रदेश सरकारले यो मुख्यमन्त्री जनता स्वास्थ्य सञ्चालनमा ल्याएको हो । यो सेवा पूर्ण निःशुल्क भएको र ३० बर्ष माथिका प्रत्येक नागरिकले स्वास्थ्य परीक्षणमा सहभागी भई लाभ लिनुपर्नेमा डा. ओलीले जोड दिनुभयो ।