अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नगरकोटका बास्तोला पक्राउ

भक्तपुर, बैशाख २४
अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै करिव साढे ३ करोड रुपैंया ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोलालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका–२ दरबारस्क्वायरबाट पक्राउ गरेको हो ।
बास्तोला समेतले सुनिला गुरुङ समेत १०१ जनालाई वैदेशिक रोजगारका लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान लगायतका देशहरूमा पठाइ प्रतिष्ठित कम्पनीहरूमा मासिक ४ लाख रूपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार बिभागबाट पत्राचार भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो ।


यसैगरी वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाईदिन्छु ३१ लाख रुपैंया ठगी गरेको अभियोगमा गोरखा पृथ्वीनारायण नगरपालिका–१०, स्थाई घर भई हाल काठमाण्डौं महानगरपालिका–२६ नयाँबसपार्क बस्ने ३१ वर्षिय सुदिप लामा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
सुदिपले वैदेशिक रोजगारीको लागि कम्बोडिया जानको लागि प्रतिव्यक्ति १२ लाख रुपैंया लाग्ने र कम्बोडिया पुगेपछि प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरको काम लगाइदिन्छु र मासिक २ लाख रुपैंया तलब हुन्छ भनी प्रलोभनमा पारी सोममाया तामाङ समेत ३ जनासँग गरी ३१ लाख रुपैंया लिई सम्पर्क विहीन भएको वैदेशिक रोजगार विभागको पत्रानुसार पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो ।
उनलाई पनि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको छ ।