आक्रमक शुरुवात गरेको नेपाल लगातार ३ विकेट गुमाउँदैं दवाबमा

भक्तपुर, बैशाख १६
एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिवि मैदानमा जारी पहिलो सेमिफाइनलमा कुवेत विरुद्ध आक्रमक शुरुवात गरेको नेपाल लगातार ३ विकेट गुमाएपछि दवाबमा परेको छ ।
नेपालका ओपनरद्धय आसिफ शेख र कुशल भुर्तेलले आक्रमक शुरुवात गर्दै पहिलो १० ओभरमा ७६ रन बनाएका थिए । ११ औं ओभरमा नेपालले पहिलो विकेट गुमाए । विशाल रनतर्फ अग्रसर नेपाललाई कुवेती बलर अद्नान इदरिसले पहिलो झट्का दिए ।
अद्नान इदरिसले कुशल भुर्तेललाई सर्ट थर्डम्यानमा रहेका फिल्डर यासिन पटेलद्धारा क्याच गराएर नेपाललाई पहिलो झट्का दिँदैं कुवेतलाई पहिलो सफलता दिलाए । भुर्तेल आउट हुँदा नेपालको स्कोर १०.५ ओभरमा ७७ रन रहेको थियो । जुन जारी प्रतियोगितामा पहिलो विकेटका लागि नेपालको सबैभन्दा ठूलो साझेदारी हो । कुशलले ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाए ।


भुर्तेल आउट भएपछि क्रिजमा आए नेपालमा भिम सार्की । उनी धेरै बेर टिक्न सकेन । ११.३ ओभरमा भिम मोहम्मद अस्लामको बलमा १ रनमा आउट भए । कुवेती कप्तान अस्लामको स्पिन गति बुझ्न नसक्दा एज लागेर स्लिपको हातबाट भिम क्याचआउट हुन पुगे ।

त्यस लगत्तै नेपालका अर्को ओपनर आसिफ शेख आउट भए । भुर्तेलकै शैलीमा आसिफ पनि आउट भएका हुन् । आसिफले कटको प्रयास गरेका थिए । तर, बलले उचाइ लिएन । सर्ट थर्डम्यान क्षेत्रमा यासिन पटेलले क्याच आउट गरे । आसिफ आउट हुँदा नेपालको स्कोर १२.२ ओभरमा ८० रन रहेको छ । आसिफले २८ बलमा ३ छक्का र एक चौकाको मद्दतमा ३१ रन जोडे ।
अहिले क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन । रोहितले १९ बलमा एक चौकासहित १६ रन बनाएका छन भने कुशलले १३ बलमा एक छक्कासहित ११ रन बनाएका छन । नेपालको कुल स्कोर १७ ओभरमा १०५ रन रहेको छ ।