सिद्धपोखरीमा जब डुंगा पल्टियो……..

भक्तपुर, बैशाख १५
शुक्रवार बिहानको करिव साढे ८ बजेको थियो । भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा एक्कासी मानिस गुहार गुहार, बचाउ बचाउ भन्दै चिच्याउन थाले । मानिसहरु आत्तिएर दौडदैं सिद्धपोखरी तर्फ गए । सिद्धपोखरीको करिव बीच भागमा डुंगा पल्टिदाँ डुंगामा सवार यात्रु पानीमा डुब्न लागेकोले बचाउ बचाउ भन्दै चिच्याउँदै सहायतको अपिल गर्दै थिए । पोखरीको डिलमा रहेका बटुवाहरु गुहार गुहार भन्दै पानीमा डुबेको उद्धारका लागि सहयोगको याचना गरिरहेका थिए ।
यस्तैमा कसैले प्रहरीको हट लाइन नम्बर १०० मा फोन गरी घटनाको जानकारी गराए । करिव १० मिनेटमा नेपाल प्रहरी र नेपाली सेनाको खोज तथा उद्धार टोली घटनास्थलमा आइपुग्यो । नजिकै रहेको जुद्ध वारुण यन्त्र कार्यालयको टोली र भक्तपुरमा विपतका बेला खोज तथा उद्धारको कार्य गर्दै आइरहेको आर एन १६ को टोली र नेपाल रेडक्रसको टोली समेत घटनास्थलमा आइपुग्यो ।


सबैभन्दा पहिले नेपाली सेनाको उद्धार टोली अर्को डुंगाको सहायतले पिडित भए स्थानमा पुग्यो । टोलीले केहीलाई उद्धार गरी पोखरीको किनारमा ल्याए । स्वास्थ्यकर्मीले घाईतेको प्रारम्भिक स्वास्थ्य जाँच गरे ।
एक जना बेहोश भएका महिलालाई उद्धार टोलीले कृतिम स्वासप्रस्वास प्रदान गरी होसमा ल्याए र थप उपचारका लागि अस्पताल लग्यो । यस्तै अर्को घाईतेको मेरुदण्डमा चोट लागेको आशंका भएपछि उनलाई पनि आवश्यक जाँचपछि अस्पताल लग्यो ।
यसैगरी पोखरीमा थप कोही डुबेको छ की भनी सेनाको अर्को टोली लिनिया सर्च मेथड अनुसार खोजका लागि खटिए । टोलीले पानी मुनी डुबेको अवस्थामा थप एक जनालई उद्धार गरे ।


उल्लेखित दृष्य वास्तविक घटना नभई जिल्ला प्रशासन कार्यालय भक्तपुरको संयोजनमा नेपाली सेनाको उपत्यका पृतना हेड क्वाटरले नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँग समन्वयमा आयोजनामा गरेको जल उत्पन्न प्रकोपमा परेकाहरुको खोज तथा उद्धारका लागि गरिएको अभ्यासका दृष्य हुन ।
सेनाको उपत्यका पृतनाले गत बैशाख १२ गतेदेखी सिद्धपोखरीमा खोज तथा उद्धारको स्थलगत र व्यवहारिक तालिम दिँदैं आइरहेको थियो । सोही तालिमको समापनमा सेनाले खोज तथा उद्धारको अभ्यास गरेको हो ।
वर्षायाममा हुने सम्भावित विपद्को क्षतिलाई न्युनीकरण, रोकथाम तथा उद्धार गर्नको लागि उपत्यका पृतनाले सो अभ्यास गरेको हो । अभ्यासको नाम मनसुन ३ रहेको छ ।


सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिमप्राप्त विपद् उद्धारकर्मीहरुले आफूले सिकेको सीप व्यवहारिक रुपमा जनताको उद्धारमा प्रयोग गरी सम्भावित धनजनको क्षतिमा कमी ल्याउन महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो ।
उहाँले विपद् उद्धारकर्मीहरु २४ घण्टा तयारी अवस्थामा रहनुपर्ने बताउँदै भक्तपुर नगरपालिकाले नेपाली सेनासँग समन्वय गरी विगतका दिनहरुमा विपद्को तालिम सञ्चालन गरी १२४ जना युवाहरूलाई उद्धारको तालिम दिएको बताउनुभयो ।
नगरपालिकाले तालिम प्राप्त उद्धारकर्मीको लागि आवश्यक सामग्री खरिद गर्नुका साथै विपद् व्यवस्थापन कोष खडा गरी विपद्मा परेका परिवारहरुलाई आवश्यक सहयोग समेत गर्दै आएको उहाँले बताउनुभयो ।


प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नेपाल भूकम्पीय दृष्टिले विश्वकै ११ औं जोखिमयुक्त मुलुकमा परेको बताउँदै बढ्दो जलवायु परिवर्तनले नेपाल जोखिममा पर्दै गएको हुँदा यस किसिमको तालिम सञ्चालनले समयमै विपद् न्युनीकरणमा सहयोगी भूमिका खेल्ने बताउनुभयो ।
नंं १ बाहिनी अड्डा बालाजुका बाहिनीपति सहायक रथी पवन खत्रीले विपद् प्रतिकार्य अभ्यास सञ्चालन गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै विभिन्न विपद्को समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रियतामा उक्त अभ्यास सञ्चालन भएको बताउनुभयो । उहाँले यस किसिमको अभ्यासले विपद् प्रतिकार्यमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयतात्मक ढंगबाट कार्यसम्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।


सो अभ्यासमा जिल्ला समन्वय समिति, ईन्द्र बक्स गण सूर्यविनायक, प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल दुवाकोट, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, मध्यपुर थिमि नगरपालिका, भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका, स्वास्थ्य कार्यालय भक्तपुर, जुद्ध वारुण यन्त्र कार्यालय, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ भक्तपुर शाखा, आरएनए–१६, नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा, भक्तपुर उद्योग वाणिज्य संघ, शिक्षा विकास तथा समन्वय ईकाई भक्तपुरको पनि समन्वय रहेको थियो ।
सो अवसरमा ¥याफ्टिङ प्रतियोगिताका विजयी, तालिमका सहभागी प्रशिक्षार्थी र संघ संस्थाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।