नागरिकको स्वास्थ्य अधिकारका लागि स्थानीय तहको स्वास्थ्य संस्थालाई गुणस्तरिय बनाउनुपर्छ – सांसद थापा

भक्तपुर, बैशाख १५
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले जनताको स्वास्थ्य अधिकारको लागि स्थानीय तहको स्वास्थ्य संस्थालाई गुणस्तरिय बनाउनुका साथै विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १५ औं स्थापना दिवसको अवसरमा शुक्रवार रेडियोलोजी भवनका साथै सिटि स्क्यान मेसिनको उद्घाटन गर्दै सांसद थापाले स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य संस्थाको सेवा बिस्तारले स्थानीय स्तरमा नै नागरिकले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्न सकिने बताउनुभएको हो । उहाँले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सेवा प्रवाहले यसको पुष्टि गरेको दावी गर्नुभयो ।


“नगरपालिकाले सञ्चालन गरेको भएता पनि यस अस्पतालले गुणस्तरिय सेवाका साथै विशिष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । यसले केन्द्रीय स्तरको सेवा प्रवाह गरेको छ । यसले गर्दा स्थानीय स्तरमा नै नागरिकले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गरेको छ,” उहाँले भन्नुभयो ।
उहाँले अस्पतालको स्तरउन्नती बृद्धि गर्ने कार्यमा सदैव आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता जनाउँदैं जिल्लाभित्रका सबै राजनैतिक दलहरु एकजुट भई हातेमालो गर्दै जाने हो भने यो अस्पताल राष्ट्रियस्तरको अस्पताल बनाउन सकिने धारणा राख्नुभयो । उहाँले अस्पताल अघि बढ्न व्यवस्थापन समितिलगायत कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले अस्पतालले बिरामी जाँच्ने कार्य मात्र नभई नगरवासीहरुलाई रोग नै लाग्न नदिन समूदायस्तरमा जनचेतनामूलक र सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । अस्पतालको स्तरबृद्धि र स्वास्थ्य सेवाको बिस्तारका लागि कुन तहको सरकार र कुन निकायबाट के कस्तो सहयोग आवश्यक छ त्यसको विस्तृत अध्ययन र सम्भाव्यता अध्ययनसहितको खाका तयार गरी योजना माग गर्न सके सहयोग जुटाउन र अस्पतालको सेवा बिस्तारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले अस्पतालले नगरवासीलाई घरदैलो सेवा उपलब्ध गराउनुपर्नेमा समेत जोड दिनुभयो ।


मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले विगतमा अस्पतालले भौतिक पुर्वाधारको विकासमा गति लिएपनि ऐन नियम नहुँदा आन्तरिक व्यवस्थापन लथालिंग अवस्थामा रहेको अस्पताललाई अहिले आफ्नो कार्यकालमा बिस्तारै सही लिकमा ल्याउन सफल भएको बताउनुभयो ।
उहाँले विगत केही वर्षदेखी अस्पतालको लेखा परीक्षण नहुँदा नविकरण समेत नभएको अवस्थामा प्रदेश र संघिय सरकारले दिने सेवा सुविधाबाट समेत वञ्चित भइरहेको जानकारी दिँदैं हालै लेखा परीक्षण सम्पन्न गरी अस्पतालको दर्ता नविकरण समेत गरिसकेको जानकारी दिनुभयो ।


यस्तै अस्पतालका कर्मचारी एवम् स्वास्थ्यकर्मीहरुको सेवा सुविधासहितको कर्मचारी व्यवस्थापन सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयनमा ल्याईएको जानकारी दिँदैं यसले कर्मचारीको वृत्ति विकासका साथै भविष्य समेत सुनिश्चित भएको विश्वास व्यक्त गर्नुभयो । अस्पतालका कर्मचारीहरुको व्यवहारका बारेमा जनगुनासो आइरहेको बताउँदैं त्यस्ता गुनासो अबदेखी नआउने गरी काम गर्न कर्मचारीहरुलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख श्रेष्ठले निर्देशन समेत दिनुभयो ।
उहाँले अस्पतालको सेवा बिस्तार र गुणस्तरिय सेवा प्रवाहका लागि विज्ञहरुको संलग्नतामा डिपिआर निर्माणको कार्य भइरहेको र सो प्रतिवेदन तयार भएपछि सोही अनुसार अस्पतालको विकास गरी आगामी पाँच वर्षभित्र नेपालकै नमूदा अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।


अस्पतालमा डायलासिस सेवा शुरु गरिएको, सिटी स्क्यान मेसिन जडान भई सेवा सूचारु गर्ने चरणमा रहेको, फार्मेसीको टेण्डर गरिएको, प्राइभेट क्लिनिक सञ्चालनको लागि तयारी शुरु गरिएको, क्यान्टिनको व्यवस्थाका लागि अध्ययन भइरहेको जानकारी दिँदैं नगरप्रमुख श्रेष्ठले अस्पतालको सेवामा सुधार भइरहेको विश्वास दिलाउनुभयो । उहाँले अस्पतालको आफ्नै नर्सिङ कलेज सञ्चालन र सुविधा युक्त ल्याव सेवा सञ्चालनका साथै यसै वर्षभित्र ब्लड बैंक स्थापनाको लागि आवश्यक तयारी भइरहेको बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले अस्पतालको स्थापनाकालदेखि वर्तमान अवस्थासम्मको बारेमा जानकारी दिँदैं कोरिया सरकारको सहयोगमा क्योङ ही स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको स्वास्थ्य संस्थाले अहिले अस्पतालको रुपमा विकास भई दैनिक ६ देखी ७ सय जनालाई सेवा दिन सक्नु आफैंमा ठूलो उपलब्धी भएको बताउनुभयो ।
उहाँले नेपालमा स्वास्थ्य बिमाको विजारोपण यही नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले गरेको दावी गर्दै अस्पतालले नगरवासीहरुलाई स्वास्थ्य सेवाका लागि अझै धेरै कार्य गर्न बाँकी रहेको बताउनुभयो ।


नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले अस्पतालमा विगतको तुलनामा धेरै परिवर्तन आएको दावी गर्दै मुख्यत अस्पताललाई ऐन कानुनको परिधी भित्र ल्याएर सञ्चालन गरिएको बताउनुभयो । उहाँले कर्मचारी र स्वास्थ्यकर्मीको व्यवहारले नै बिरामीको आधा रोग निको हुने विश्वास रहेको बताउँदैं अस्पतालले मुस्कानसहितको सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
“विगतमा अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीको व्यवहार यदाकदा रुखो भएको गुनासो आएको छ । अस्पताललाई भगवानको दोस्रो मन्दिर भनिन्छ । हामीले मुस्कानको सहितको सेवा प्रवाह गरेर आम नागरिकको मन जित्नुपर्छ,” उहाँले भन्नुभयो ।


मध्यपुर थिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जनतालाई सेवा सुविधा दिनु सकारात्मक भए पनि त्यसलाई गुणस्तरीयका साथ निरन्तर सेवा दिन सक्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजयराज सुवेदीले अस्पतालको स्तरबृद्धि तथा सुधारका लागि नगरपालिका हरपल सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यसैगरी अस्पताल सञ्चालन समितिका सदस्य हरिदास प्रजापतिले सेवा बिस्तारसँगै नागरिकको गुनासो नआउने गरी सेवा प्रवाहलाई चुस्त बनाउन व्यवस्थापन समिति प्रयासरत रहेको बताउनुभयो ।
सो अवसरमा अस्पतालका स्वास्थ्यकर्मी एवम् कर्मचारीहरु उषा श्रेष्ठ, सविना श्रेष्ठलगायतले नृत्य प्रस्तुती गर्नुका साथै कविता वाचन गरेको थियो ।


यसैबीच अस्पतालको १५ औं स्थापना दिवसको अवसरमा अस्पताल परिसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका छन । उक्त रक्तदान कार्यक्रमलाई भक्तपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग गरेको थियो ।
यसैगरी स्थापना दिवसकै अवसरमा अस्पतालमा रहेका बिरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, नगरप्रमुख, उपप्रमुखलगायतका पदाधिकारीहरुले फलफुल वितरण गरेको छ ।