नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटि स्क्यान सेवा शुरु हुने

भक्तपुर, बैशाख १५
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटि स्क्यान सेवा शुरु हुने भएको छ । अस्पतालको १५ औं स्थापना दिवसको अवसरमा शुक्रवार रेडियोलोजी भवन र सिटि स्क्यान मेसिनको उद्घाटन भएसँगै सो अस्पतालमा सिटि स्क्यान सेवा शुरु हुन लागेको हो ।
अस्पतालले लामो प्रक्रिया पुरा गर्दै हालै करिव ५ करोड २६ लाख रुपैंयाको लागतमा सिटि स्क्यान मेसिन खरिद गरेको हो । विविध कारणले भन्सारमा रोकिएको सो मेसिन गत साता अस्पताल आइपुगेको हो ।


अस्पतालको लेखा परिक्षण नहुँदा र सो को कारण अस्पतालको नविकरण नहुँदा सिटि स्क्यान मेसिनको भन्सारमा प्राविधिक समस्या उत्पन्न भएको नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो । “अस्पतालको नविकरण नहुँदा भन्सार छुटको प्रक्रियामा केही समस्या उत्पन्न भएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकटेलको विशेष सहयोग र पहलमा अस्पतालको नविकरणका साथै भन्सार छुटको प्रक्रिया पुरा भई आउँदा सिटि स्क्यान मेसिन आइपुग्न केही ढिला भएको हो,” उहाँले भन्नुभयो ।
“अबको केही दिनमा रेडियोलोजी भवन र सिटि स्क्यान मेसिनको प्राविधिक कार्य सम्पन्न भएपछि बिरामीले सिटी स्क्यान सेवा प्राप्त गर्नेछ,” नगरप्रमुख सुरेन्द्र श्रेष्ठले भन्नुभयो ।