भक्तपुरमा औलोको संक्रमण शुन्य

भक्तपुर, बैशाख १२
भक्तपुरमा औलोको बिरामीको संख्या शुन्य रहेको छ । विश्व औलो दिवसको अवसरमा मंगलवार स्वास्थ्य कार्यालय भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा एक तथ्यांक प्रस्तुत गर्दै भक्तपुरमा औंलोको बिरामी शुन्य रहेको जानकारी दिएको हो ।
कार्यक्रममा औलो रोगको अवस्थाका बारेमा प्रस्तुतीकरण गर्दै स्वास्थ्य कार्यालयका दिपक अछामीले भक्तपुरमा गत वर्ष एक जनामा औलो संक्रमण देखिएको अभिलेख भएपनि माइक्रोस्पोप परीक्षणले औलो पुष्टि हुन नसकेको बताउनुभयो । उहाँले उक्त अभिलेख हटाउने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
उहाँले भक्तपुरमा औलोको संक्रमण शुन्य भएपनि जोखिम भने यथावत रहेको बताउनुभयो । नेपालमा स्थानीय संक्रमण भन्दा पनि आयातित संक्रमित फेला पर्ने गरेको जानकारी दिँदैं उहाँले विभिन्न स्थानबाट बसाईं सरेर आउने, रोजगारीको सिलसिलामा आवतजावत गरिरहने मानिसबाट औलो संक्रमण हुन सक्ने जोखिम रहेको बताउनुभयो ।
संसारमा ४ सय जातका एनोफिलीज जातका लामखुट्टे भएपनि ६० जातमा मात्र औलोको परजीवि बाहक प्रमाणित भएका छन । नेपालमा हालसम्म ४३ जातका एनोफिलीज लामखुट्टे पाईएपनि एनोफिलीज मिनियम, एनोफिलीज फ्लुभियाटिसीयु, एनोफिलीज मायकुलाटस र एनोफिलीज एनुलारीज गरी ४ जातले मात्र औलो सार्ने गरेको छ ।


नेपालमा आर्थिक वर्ष २०७८÷७९ मा ३८ जनामा औलो संक्रमण देखिएको थियो भने ४५३ जना विदेशबाट आएका व्यक्तिमा औलो संक्रमण पुष्टि भएको थियो । प्रस्तुत गरिएको तथ्यांक अनुसार मुलुकको ६५ जिल्ला औलो रोगको जोखिममा रहेका छन् । तीमध्ये पनि इलाम, झापा, मोरङ, धनुषा, महोत्तरी, सिन्धुली, बाँके, बर्दिया, चितवन, सर्लाही, नवलपरासी, कैलाली र कञ्चनपुर गरी १३ जिल्ला भने उच्च जोखिममा छन् । भक्तपुरसहित सोलुखुम्बु, ललितपुर, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, कालीकोट, मुगु र सिन्धुपाल्चोक गरी १० जिल्ला भने औलोमुक्त जिल्लामा पर्दछन् ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण बहादुर मिजारले भक्तपुरमा औलोका बिरामी नदेखिएपनि सवाधानीका उपायहरु अपनाईरहेको जानकारी दिँदैं यसका लागि समय समयमा झुल वितरण, सचेतनामूलक कार्यक्रमलगायतका कार्यक्रमहरु चलिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको स्वास्थ्य प्रमुख डा. रत्नसुन्दर लासिवाले औलो मुक्त जिल्ला भए पनि सतकर्ता अपनाउन भने छाड्न नहुने बताउनुभयो । “रोग भनेको कुन बेला कुन खतरनाक भएर आउँंछ भन्नै सकिँदैन । त्यसैले सधै सर्तकता अपनाउन छाड्न हुँदैन,” उहाँले भन्नुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले आम नागरिकलाई औलोको बारेमा सचेतना फैलाउन र औलोको अवस्थाका बारेमा पुर्नताजगी गराउन समय समयमा छलफल, अन्तरक्रिया कार्यक्रम समूदायस्तरमा सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले औलो जस्तो रोगको जोखिम न्यूनिकरणका लागि जनचेतना फैलाउन सञ्चारमाध्यमहरुले पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।