आमाबुवा विहिन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

भक्तपुर, बैशाख १३
भक्तपुर नगरपालिकाले नगरभित्र अध्ययनरत आमाबुवा विहिन बालबालिकाहरुलाई बुधवार शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालयहरु बागीश्वरी मावि, सैनिक आवसीय मावि, शान्ति निकेतन मावि, गणेश मावि, समाज सुधार आवि, भीम आदर्श आवि, बालमन्दिर आवि, बालसेवक आवि, सन्तति आवि र मिनर्वा ई. स्कूलका ५१ जना आमाबुबा विहीन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै कार्य गरिरहेको बताउँदैं बालबालिका देशको लागि भविष्यको आधार भएकोले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहुन् भन्ने हेतुले नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो ।
उहाँले आमाबुबा बिहीन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिंदै आएको जानकारी दिँदैं ती बालबालिकाहरुलाई भविष्यमा योग्य नागरिक बनाउनको लागि विद्यालयले उपयुक्त वातावरण बनाउनुपर्ने, शिक्षक÷शिक्षिकाहरुले मातृत्व र पितृत्व सहितको माया ममता दिनुपर्ने र साथमा रहेका अभिभावकहरुले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको कार्यको चर्चा गर्दै नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुलाई समान रुपमा अगाडि बढाउन प्रयासरत रहेको बताउनुभयो । उहाँले विद्यालयमा आमाबुबा विहीन बालबालिकाहरुलाई शिक्षक÷शिक्षिकाहरुले विशेष ध्यान दिनुपर्ने र योग्य नागरिक बताउन प्रयत्नशील हुनुपर्ने बताउनुभयो ।
वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नेपालको संविधानको भावना अनुरुप विद्यालय शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने र संघीय सरकारले सोही अनुरुप शुल्कदेखि शैक्षिक सामग्रीहरुको व्यवस्था गर्नुपर्नेमा सो अनुरुप नभएकोले शिक्षामा विभेद रहेको बताउनुभयो ।
नगरपालिकाको समाज कल्याण समितिका संयोजक रोशनमैंया सुवालले आमाबाबु विहीन बालबालिकाहरुको हौसला र उत्साहको निम्ति शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो ।