७२ सालकाे भूकम्पमा दिवंगत भएकाहरूकाे सुगति कामनार्थ महापरित्राण पाठ

सुनीता तुलाधर, ललितपुर, बैशाख १२ गते ।

२०७२ सालको भुकम्पबाट दिवंगत हुनु भएका सम्पूर्ण सत्वहरुकाे सुगति कामनार्थ ललितपुरकाे हरिसिद्धि स्थित पुण्य उदय विहारमा आज पवित्र महापरित्राण पाठ सम्पन्न भएकाे छ । पुण्य उदय विहारकाे आयाेजनमा भएकाे उक्त धार्मिक पाठमा भिक्षु महासंघद्वारा दिनभर भगवान बुद्धले विभिन्न समयमा दिनुभएकाे उपदेशहरूबाट संकलित २९ वटा सुत्रहरू पाठ गरिएकाे थियाे ।

उक्त पवित्र पाठकाे क्रममा भिक्षु सोभित महास्थविरले महापरित्राण पाठको उद्देश्य, आनिशंस (फल) र महत्व बारेमा प्रकाश पार्नुहुँदै यस महापरित्राण पाठबाट चारैतिरबाट आउन सक्ने, आइरहेकाे विभिन्न विघ्न–बाधा, राेग, त्रासलाइ हटाई, आउन नदिई आरक्षा हुने धर्मदेशना दिनुभयाे ।

शुरुको चरणमा महापरित्राण मण्डपभित्र भिक्षु महासंघद्वारा सामूहिक महापरित्राण पाठ गरिएको थियो भने पछि दुई दुईजना भिक्षुहरुबाट युगल महापरित्राण पाठ गर्नुभएको थियो । भिक्षु पञ्ञारतन महास्थविरले धम्मचक्कपवत्तन सुत्तका बारेमा व्याख्या गर्नुहुँदै धर्मदेशना दिनुभएको थियो ।

भिक्षु महासंघबाट सामूहिक रुपमा आह्वान सूत्र पाठ गरी सामूहिक रुपमा शुरु भएको उक्त पवित्र महापरित्राण पाठमा उक्त विहारका अनागारिका गुरुमां लगायत उपस्थित उपासकउपासिकाहरुले भिक्षु महासंघलाई सश्रद्धा दान प्रदान पनि गरेका थिए ।