दलगत स्वार्थबाट माथि उठेर जनप्रतिनिधिहरुले काम गर्नुपर्छ – सांसद थापा

भक्तपुर, बैशाख ११ ।
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको सचिवालयले संघिय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भक्तपुरको विकास निर्माणका योजना समावेश गर्न वडास्तरबाट योजना संकलन गरेको छ । ती योजनाहरुलाई प्राथमिकताका आधारमा सम्बन्धीत मन्त्रालय र निकायमा सांसद थापाले सिफारिस गरी पठाउने र बजेट विनियोजनका लागि आवश्यक पहल गरिने सचिवालयले जनाएको छ ।
यसैको लागि सांसद थापाको सचिवालयले सोमवार भक्तपुरका प्रदेश सभा सदस्य, चार वटै नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरुसँग छलफल आयोजना गरी जनप्रतिनिधिहरुको सुझाव संकलन गरेको छ ।


सो अवसरमा सांसद थापाले जनप्रतिनिधिहरुले राजनीतिक पुर्वाग्रह नराखी जनप्रतिनिधिको रुपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले दलगत स्वार्थबाट माथि उठेर भक्तपुरको विकास निर्माणमा दलहरुबीच सहकार्य र समन्वय हुनुपर्नेमा समेत जोड दिनुभयो ।
उहाँले जनप्रतिनिधिहरु एक ठाउँमा उभिन सक्ने परिस्थिती निर्माणका लागि छलफल कार्यक्रम आयोजना गरिएको जानकारी दिँदैं भोली निर्वाचन लड्ने भन्दा पनि अहिले भक्तपुर बनाउने सवालमा जनप्रतिनिधिहरुले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
सडक, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य र सरसफाई जस्ता विषय विकास भन्दा पनि जनताको दैनिक आधारभुत आवश्यकता भएको बताउँदैं सांसद थापाले जनताका ती आवश्यकता पुरा गर्न जनप्रतिनिधिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।


उहाँले आगामी आर्थिक वर्षको संघिय सरकारको नीति तथा कार्यक्रम र बजेटमा भक्तपुरका योजना समावेश गराउन अर्थमन्त्रीदेखी तालुकदार मन्त्रालयका मन्त्रीहरुसँग छलफल भइरहेको जानकारी दिँदैं भक्तपुरका वडाबाट प्रस्ताव गरिएका योजनाहरुलाई सम्बन्धीत मन्त्रालय र निकायमा सिफारिस गरी आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले मध्यपुर थिमि नगरपालिकामा निलबाराही मन्दिर संरक्षणसहितको विस्तृत परियोजना, चाँगुनारायण नगरपालिकाको महादेव खोला बहुउद्देश्य परियोजना, सूर्यविनायक नगरपालिकामा एउटा ठूलो खानेपानी परियोजनाको लागि संघिय सरकारको बहुवर्षिय योजना अन्तर्गत बजेट विनियोजन गराउन आवश्यक छलफल भइरहेको बताउनुभयो ।


यसैगरी कोटेश्वरको सवारी जामको समस्या समाधान गर्न फ्लाई ओभर निर्माण, सूर्यविनायक–धुलिखेल सडक बिस्तार आयोजना अन्तर्गत सूर्यविनायक साँगा खण्डको काम शुरु भएको र सो सडक खण्डमा साँगामा पनि ओभरहेड ब्रिज निर्माणको डिपिआर निर्माणका लागि काम भइरहेको जानकारी दिँदैं सांसद थापाले साना योजनाहरु नगरपालिकाले नै सञ्चालन गर्ने गरी बजेट विनियोजनको लागि सम्बन्धीत निकायमा पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा चार वटै नगरपालिकाका जनप्रतिनिधिका साथै बागमती प्रदेशका सांसदहरुलाई आमन्त्रण गरेपनि बागमती प्रदेशका केही सांसदहरुले कार्यव्यवस्थता र स्वास्थ्यका कारण आउन नसक्ने जानकारी दिएको सचिवालयले जानकारी दिए । त्यस्तै केही जनप्रतिनिधिहरु राजनीतिक पुर्वाग्रहका कारण उपस्थित नभएको सचिवालयका एक पदाधिकारीले बताए ।