संघमहानायक अग्गमहापण्डित दिवंगत प्रज्ञानन्द महास्थविरको १२३ औं जन्मोत्सवको अवसरमा शाक्यसिंह विहारमा विविध धार्मिक कार्यक्रम

सुनीता तुलाधर, ललितपुर, ११ बैशाख ।

अरिय धम्मरक्खित नेपाल बुद्धशासन वंसालंकार सिरि संघमहानायक अग्गमहापण्डित दिवंगत प्रज्ञानन्द महास्थविरको १२३ औं जन्मोत्सवको अवसरमा आइतवार श्री शाक्यसिंह विहारमा विविध धार्मिक कार्यक्रम आयोजना गरिएको छ ।
बिहार प्रमुख भिक्षु चन्द्रगुप्त महास्थविरले दीप प्रज्वलन गरी शुरु भएको धार्मिक कार्यक्रममा न्यू पेनजी पुस्तकमा आधारित अभिधर्मको बारेमा अग्गञाणी गुरुमाँले धम्मसाकच्छा गर्नुभयो ।

प्रज्ञानन्द वृत्तचित्रको स्क्रीप्ट लेख्नुभएका मदन रत्न मानन्धरले दिवंगत प्रज्ञानन्द महास्थविरले लेख्नुभएको ‘संसारमा के के छ ?’ नामक कितावको बारेमा धम्मसाकच्छा गर्नुभयो ।

कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका निवर्तमान उपाध्यक्ष, पद्यसुगन्ध विहारका विहार प्रमुख सुमेध महास्थविरले धर्मदेशना दिनुहुँदै नेपालका थेरवादका अग्रज भिक्षुहरुले आफ्नो निजी स्वार्थलाई नहेरी, भगवान बुद्धको शिक्षालाई कसरी जनमानसमा सही ढंगबाट पुर्याउन सधै लागि पर्नु भएको थियो सोही अग्रज भिक्षुको कठीन परिश्रमको कारण आज भगवान बुद्धको शिक्षालाई ग्रहण गर्न सकिरहेको बताउनुभयो ।

भिक्षु महासंघका उपाध्यक्ष शीलभद्र महास्थविरले परित्राणको व्याख्या गर्नुका साथै परित्राण पाठ गरिएको कार्यक्रममा प्रज्ञानन्द भन्ते जीवित अवस्था देखि नै शाक्यसिंह विहारमा सहयोग गर्दै आउनु भएका १० जना ज्येष्ठ उपासक उपासिकाहरुलाई दोसल्ला र खादा ओढाई प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुका साथै अक्षय कोषको लागि सहयोग गर्नु हुनेहरुलाई पनि सम्मान गरिएको थियो ।