किसानको पक्षमा काम गर्ने नेताको खाँचो छ – सभापति देउवा

भक्तपुर, बैशाख ११
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किसानको पक्षमा काम गर्ने नेताको खाँचो रहेको बताउनुभएको छ । नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्यको एक सयौं जन्मजयन्तीको अवसरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले सोमवार कौशलटारमा आयोजित कार्यक्रममा सभापति देउवाले नेपालमा कृषिमा आधारित र किसानहरुको देश भएकाले यहाँ किसानको पक्षमा काम गर्ने नेताको खाँचो रहेको बताउनुभएको हो ।
सभापति देउवाले नेता आचार्य जुझारु र लडाकु स्वभावको नेता भएको र उहाँले किसानका पक्षमा धेरै काम गरेको चर्चा गर्दै उहाँका अधुरा काम पुरा गर्न पार्टीले सहयोग गर्ने बताउनुभयो । “आचार्यका अधुरा काम उहाँका परिवारले अघि बढाउनुपर्छ । उहाँका छोराहरुले अघि बढाउनुपर्छ । त्यसमा पार्टीको पूर्ण साथ सहयोग रहनेछ,” उहाँले भन्नुभयो ।


कार्यक्रममा पुर्वमन्त्री एवम् आचार्यका सहयात्री ओमकार श्रेष्ठले स्व. आचार्यकै पहलमा किसानहरुले मोहीयानी हक प्राप्त गर्दै जग्गामा आधा हिस्साको अधिकार स्थापित भएको बताउनुभयो ।
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले युवाहरुलाई पार्टीमा आकर्षित गर्न नसकिय पुराना दलहरुको भविष्य संकटमा पर्ने अवस्था आएको बताउनुभयो । उहाँले पार्टीको संगठन बिस्तारका साथै युवाहरुलाई पार्टीमा आकर्षित गर्न सामाजिक सञ्जालको भरपुर उपयोग गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष विनोद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय मदनकृष्ण श्रेष्ठ र गंगालक्ष्मी अवाल, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष विनोद कायष्ठले स्व. आचार्यको जीवनीको चर्चा गर्नुभएको थियो ।
सो अवसरमा नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. ३ ईकाइ समितिको प्रायोजनमा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।