बुद्धिचालमा रुपेश र सुजना अपराजित रहँदै च्याम्पियन

भक्तपुर, चैत्र ११
राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा अपराजित रहँदै खुलातर्फ फिडेमास्टर रुपेश जयसवाल र महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनी च्याम्पियन बनेका छन् । च्याम्पियनसिपको अन्तिम चरण अघि नै विजेता बन्ने निश्चित भइसकेका दुवैले नवौं चरणमा आइतबार आआफ्नो खेल जित्दै अपराजित रहँदै च्याम्पियन बनेका हुन ।
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन नवौं चरणको खेलमा रुपेशले राजन सुवेदीलाई हराउँदा सुजनाले सिन्दिरा जोशीलाई पराजित गरिन् । ८ जित र एक बराबरीको नतिजासहित दुवैले साढे ८ अंक जोडेका हुन् ।
समान साढे ६ अंकसहित पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र फिडेमास्टर क्षितिज भण्डारी क्रमसः दोस्रो र तेस्रो स्थानमा रहे । विजेता रुपेशले २५ हजार तथा दोस्रो र तेस्रो भएका सुरवीर र क्षितिजले क्रमसः १५ र १० हजार रुपैयाँ पुरस्कार पाए ।
राष्ट्रिय ‘बी’ च्याम्पियनसिपबाट छानिएका ८, साविक विजेता तथा फिडे रेटिङमा शीर्ष स्थानमा रहेका १–१ गरी १० खेलाडीबीचको राउण्ड रोविन प्रणालीमा भएको प्रतिस्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडी ए च्याम्पियनसिपमा कायम रहेका छन् भने बाँकी सात खेलाडी बी च्याम्पियनसिपमा घटुवा भएका छन् । शीर्ष तीन खेलाडी अर्को राष्ट्रिय च्याम्पियनसिपका लागि स्वतः छनोट समेत भएका छन् ।
दिव्यांश मन्टी प्रोडक्सनको प्रमुख प्रायोजन तथा रुक्मिणी टूर्स र नेपाल टेलिकमको सह–प्रायोजनमा भएको प्रतियोगितामा महिलातर्फ सुजनाले २५ हजार रुपैयाँ पुरस्कर पाइन् । साढे ५ अंकसहित क्रमसः सुशीला गुरुङ उपविजेता र शान्ती धिमाल तेस्रो भए । नवौं चरणमा यी दुईले बराबरी खेलेका थिए । सुशीलाले १५ हजार तथा शान्तीले १० हजार रुपैयाँ पुरस्कार पाए । खुलातर्फ जस्तै महिलातर्फ पनि शीर्ष तीन खेलाडी अर्को राष्ट्रिय च्याम्पियनसिपमा रहनेछन् भने बाँकी सात जनाले बी च्ययाम्पियनसिप खेल्नेछन् ।
प्रतियोगितामा खुलातर्फको विजेता रुपेश र महिलातर्फकी सुजनाले बंगलादेशमा यही महिना आयोजना हुने वल्र्ड कप साइकल एसियन जोनल ३.२ च्याम्पियनसिप तथा एसियन च्याम्पियनसिपका लागि छानिएका छन् । साथै उनीहरुले सन् २०२४ मा हंगेरीको बुढापेष्टमा हुने ४५औं चेस ओलम्पियाडका लागि पनि नेपाली टिममा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
महिलातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतियोगिताकै कान्छी खेलाडी १३ वर्षीया रिया श्रेष्ठ र खुल्लातर्फ १४ वर्षीय पुरुषोत्तम सिलवाललाई महासंघले १५–१७ बैशाखमा आयोजना हुने एसियन युथ मिक्स्ड डवल्स चेस टिम च्याम्पियनसिपमा सहभागिता गराउने भएको छ । एसिया क्षेत्रमा बढ्दो कोरोना संक्रमण दरका कारण यो प्रतियोगिता अनलाइन हुनेछ ।