राजनीतिलाई व्यापार ठान्ने नेतालाई जनताले बहिस्कार गर्नुपर्छ – सांसद थापा

भक्तपुर, बैशाख ४
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राजनीतिलाई व्यापार ठान्ने नेतालाई जनताले बहिस्कार गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरमा गत चैत्र २३ गतेदेखी शुरु भएको सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आइतवार समापन समारोहमा सांसद थापाले केही भ्रष्ट नेताका कारण राजनीति बदनाम भएको टिप्पणी गर्दै त्यस्ता नेतालाई जनताले बहिस्कार गर्नुपर्ने बताउनुभएको हो ।
“अहिले राजनिति एउटा रातारात करोड पति बन्ने ब्यापार बनेको छ । केही भ्रष्ट नेताका कारण राजनीति नै बदनाम हुँदै गएको छ । जनताले त्यस्ता ब्यापार ठानेर राजनितिमा आउने र भ्रष्ट नेतालाई आजै देखी बहिस्कार गर्नु जरूरी छ,” सांसद थापाले भन्नुभयो ।
उहाँले राजनिति एउटा समाज सेवा भएको बताउँदैं आफुले राजनितिलाई सेवाको रूपमा लिई अगाडि बढेको जिकिर गर्नुभयो । उहाँले जनताले दिएको जिम्मेवारी ईमान्दारीपूर्वक निभाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


सांसद थापाले महोत्सव, मेला र प्रदर्शनीले स्थानीय उत्पादन, कृषि, पर्यटन, घरेलु तथा साना उद्योग र व्यापार व्यवसायमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, “स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरूले मेलामा बजार पाएका छन । खानेकुरा देखि यहाँका परिकारले मेला अबधिमा बजार पाएका छन । यसले भक्तपुरको चिनारी गराएको छ ।”
उहाँले बिस्का जात्रा जस्तो मौलिक चाडपर्वले आम नागरिकलाई पिडा र समस्या भुलाएर खुसी बनाउने गरेको जात्राका क्रममा जनतासँग हातेमालो गरेर अघि बढ्दा अनुभुती भएको चर्चा गर्दै देश र जनताको खुसीका लागि कांग्रेस जो कोहीसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
सो अवसरमा उहाँले अन्तर्राष्ट्रिय खेलमा पदक प्राप्त गर्ने सात जना खेलाडीलाई नगद सहित सम्मान गर्नुका साथै महोत्सवलाई सफल बनाउन विभिन्न तवरले सहयोग गर्नेलाई समेत सम्मान गर्नुभयो ।
कार्यक्रममा महोत्सव आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महत, जिल्ला खेलकुद समिति भक्तपुरका अध्यक्ष दिपक थापालगायतले महोत्सवका गतिविधिबारे चर्चा गर्दै महोत्सव सफल भएको बताउनुभयो । कार्यक्रममा रचना रिमाल, सुमित थापा, अनिता बस्नेत (माष्टर्नी) लगायतले सांगितिक प्रस्तुति गरेका थिए ।