बिस्का जात्राको आठौं दिन देवी देवतालाई सगुन दिई द्यो स्वगं जात्रा मनाए

भक्तपुर, बैशाख ४

भक्तपुरमा नौ दिन आठ रात धुमधामले मनाईने विश्व प्रसिद्ध ऐतिहासिक एवम् धार्मिक तथा साँस्कृतिक महत्वको बिस्का (बिस्केट) जात्राको आज आठौं दिन नगरका करिव ४ दर्जन देवी देवतालाई स्वगं (सगुन) दिई द्यो स्वगं जात्रा मनाएका छन ।
बिहानैदेखी परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमागरी देवी देवतालाई सगुन दिई द्यो स्वगं जात्रा मनाएका हुन ।


जात्रामा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर सहभागी भएका थिए ।
जात्राका लागि सबै देवीदेवतालाई आ–आफ्ना द्योः छें (देव घर)बाट निकाली चोक तथा डवलीमा राखिएको थियो । पुजाका क्रममा सहभागीहरुले देवी देवताहरुलाई आ–आफ्ना गच्छेअनुसारको नेवारी भोजका परिकारहरु जस्तै चिउरा, हरियो तरकारी, अण्डा, चटामारी, बारा, गेडागुडी, माछा, आलु, चना, काउली, राँगाको मासुका परिकार, योमरी, भुटन, दही, मसला पाकेट, सिसा फुसा (मुला, गाजर, काँक्रोका टुक्रा), पान, रक्सी, जाँडलगायतका चढाएका थिए । यस्तै मिठाईका परिकारहरुमा खजुरी, जेरी, स्वारी, लाखामरी, पुरी, निम्की, रोठ, बिस्कुट, चकलेट, फलफूल चढाउनेको संख्या पनि उत्तिकै रहेको थियो ।


यसवर्ष द्यो स्वगं जात्रामा भक्तपुर नगरपालिका वडा नं. ४ को दुम्लाचा टोलबाट देवी देवतालाई बो छायगु (भोज चढाउने) आयोजना गरिएको स्थानीयले बताए । द्यो स्वगं जात्रामा भक्तपुर नगरभरि विभिन्न टोलमा छरिएका ३३ स्थानका छुट्टाछुट्टै देवस्थलमा सगुन चढाइन्छ । नगरका विभिन्न स्थानमा रहेका अष्टमातृकाका आठसहित भैरव, गणेशलगायत करिव ४ दर्जन देवी देवतालाई सगुन चढाईन्छ ।


द्यो स्वगं जात्रामा मुलाखु गणेश, श्वेत भैरव, मनकामना, तेखाचो गणेश, बाराही अजिमा, च्वाङा गणेश, फैध्वाका गणेश, ईटाछेँ गणेश, ईन्द्रायणी, बलाखु गणेश, त्रिपुरा सुन्दरी, छुमा गणेश, महाकाली, योछेँ गणेश, महालक्ष्मी, थालाछेँ गणेश, बालकुमारी, सल्ला गणेश, नित्यनाथ, भाजं भैरव, कृति प्वाक गणेश, यातु गणेश, नवदुर्गा, बालकुमारी, यामिसिंके बालकुमारी, तालातुंछी गणेश, मचो भैरव, ब्रम्हायणी देवी, महेश्वरी देवी, सिद्धि गणेश, तँच्वय गणेश, दहि बिनायक, कुमारी देवी, भद्रकाली, बेताल, भैरबनाथ, गय भीमसेम, लाकोलाछेँ गणेश, श्वेत (वटुक) भैरव, ज्याठा गणेश, सूर्यविनायक गणेशलगायतका देवी देवतालाई सगुन चढाईन्छ ।


यो पुजा प्राचिन कालदेखि नै संचालन हुँदै आएको इतिहासमा उल्लेख छ । बिस्का जात्राका क्रममा विध्न बाधा वा केही भुलचुक भए माफ पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताहरुको पुजा गर्ने प्रचलन रहेको छ । यो जात्राको प्रमुख विशेषता भनेको नगरका सबै प्रमुख देवी देवतालाई एक साथ पुजा गर्नु हो ।