बालकोटमा ढल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु, एक घाईते

भक्तपुर, बैशाख ३
भक्तपुरको बालकोटमा ढल बिस्तारको क्रममा आइतवार साँझ माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ भने अर्को एक जना घाईते भएका छन । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित रागीनी हाईटको भित्री बस्तीमा नयाँ ढल बिस्तारको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा एक मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा .सुनसरी गढी गाउँपालिका–२ घर भई हाल भक्तपुर बालकोट बस्ने २२ वर्षिय रितेश सदा हुन । यस्तै सोही घटनामा ३० वर्षिय सियाराम सदा घाईते भएका छन । उहाँको भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भईरहेको प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले बताउनुभयो । घाईते सियाराम बोल्न सक्ने अवस्थामा रहेको एसपी केसीले बताउनुभयो ।


ढल खन्ने क्रममा करिव ४ बजे माटोको ढिस्को खसेर रितेश र सियारामलाई पुरेको थियो । घटना लगत्तै प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठ नेतृत्वको प्रहरी टोली, स्थानीय, नेपाल रेडक्रस, नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोली घटनास्थल पुगेर उद्धारको कार्य गरेको थियो ।
उद्धार टोलीले जेसिवीको सहायताले करिव साढे पाँच बजे सियारामलाई उद्धार गरी भक्तपुर ईन्टरनेशनल अस्पताल पुर्याएको थियो । यस्तै पौने ६ बजे रितेशलाई उद्धार गरी अस्पताल लगिएको थियो ।


यसैबीच माटोको ढिस्काले दुई मजदुर पुरिएपछि ती मजदुरलाई काममा लगाउने साहु .सुनसरी गढी गाउँपालिका –२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना सञ्चालन गरी बस्ने बर्ष ४६ को रामदेव यादव बेहोश भएका छन । उच्चरक्तचाप र मधुमेह पिडित यादवको अवस्था अहिले सामान्य रहेको एसपी केसीले बताउनुभयो ।