कृषि उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक छ ः कृषिमन्त्री भुसाल

भक्तपुर, चैत्र २३
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक भएको बताउनुभएको छ । भक्तपुरको सल्लाघारीमा आयोजित सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको बिहिवार उद्घाटन गर्दै देशको कुल ग्राहस्थ उत्पादन बृद्धि गर्न कृषि उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक भएको बताउनुभएको हो ।
“व्यापार मेला महोत्सवमा कृषिका उत्पादनलाई प्रोत्साहन गर्ने र प्रवद्र्धन गर्न आवश्यक छ,” उहाँले भन्नुभयो । उहाँले अर्थतन्त्र सबल बनाउन र जीवनलाई स्वस्थ राख्न मौलिक उत्पादनहरुमा जोड दिनुपर्ने बताउनुभयो । “भक्तपुर जिल्ला कृषि उत्पादन गर्ने प्रमुख जिल्ला हो । यहाँको मेला महोत्सवमा यहाँकै मौलिक कृषिजन्य मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्छ,” उहाँले भन्नुभयो ।


उहाँले महोत्सवमा कुन कुन कृषि उत्पादनको स्टल रहेको छ भन्दै जिज्ञासा समेत राख्नुभयो । उहाँले मेला महोत्सवमा कृषिका उपज प्रस्तुत गरेर कृषि क्षेत्रको व्यापार बिस्तार गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भक्तपुरको प्रसिद्ध बिस्काः जात्रालाई शान्तिपूर्णरुपमा सम्पन्न गरी राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बिस्काः जात्रा अवलोकनका लागि आउने सर्वसाधारणले महोत्सवको समेत अवलोकन गरी आवश्यक वस्तु खरिद गर्ने भएकाले महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो ।


नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले आर्थिक मन्दीकाबीच नजिकै आइरहेको नयाँ वर्ष र भक्तपुरमा मनाईने प्रसिद्ध बिस्काः जात्राको अवसरमा आयोजित महोत्सवले यहाँका नागरिकलाई सहुलियतमा गुणस्तरिय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा एकिकृत समाजवादी भक्तपुरका अध्यक्ष श्याम बस्नेतले महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा महोत्सव आयोजक औद्योगिक शान्ति नेपालका संयोजक सन्दिप महत, भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले महोत्सवमा २ सय भन्दा बढी दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, कृषि उत्पादन, विद्युतिय सामग्रीका स्टल रहेको जानकारी दिँदैं महोत्सवमा २० देखी २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताउनुभयो ।
यस्तै महोत्सवमा दैनिक राष्ट्रिय र स्थानीय कलाकारको साथमा साँस्कृतिक कार्यक्रम हुने, नृत्य प्रतियोगिताका साथै बालउद्यान, रोटेपिङलगायतका मनोरञ्जनका साधन हुने जानकारी दिनुभयो ।


महोत्सव उद्घाटन पश्चात मन्त्री भुषालले महोत्सवमा रहेका स्टलहरुको स्थलगत अवलोकन गर्नुभएको थियो । सो अवसरमा उहाँले कृषि उत्पादन तथा उपजको स्टलमा अभिरुचीपूर्वक अवलोकन गर्नुका साथै व्यापार व्यवसायबारे जिज्ञासा समेत राख्नुभएको थियो ।
सो अवसरमा कराँते खेलाडीले खेल कौशल प्रदर्शन गर्नुका साथै कलाकारहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो ।