मध्यपुर थिमिमा चैत्र २५ गते धिमे बाजा प्रतियोगिता हुने

भक्तपुर, चैत्र २३
मध्यपुर थिमिमा यही चैत्र २५ गते शनिवार उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । विगतका वर्ष ओस्ला नेपालले आयोजना गर्दै आएको सो धिमे बाजा प्रतियोगिता यसवर्ष नगरपालिका स्वय्मले आयोजना गर्न लागेको हो । प्रतियोगिता श्री श्री श्री विष्णुवीर धिमे बाजा खलःको संयोजनमा हुन लागेको बिहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा उपत्यकाका ३२ वटा धिमे खलः वा पुचः सहभागी हुने अपेक्षा गरिएको प्रतियोगिता संयोजक एवम् वडा नं. ४ का वडासदस्य मदन ख्या श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । “मध्यपुर थिमिको बिस्काः जात्रामा विभिन्न देवी देवताका ३२ खटको जात्रा हुने गर्दछ । त्यसैको प्रतिक धिमे बाजा प्रतियोगितामा ३२ खलः तथा पुचःको सहभागिता गराउने लक्ष्य रहेको छ,” उहाँले भन्नुभयो ।
प्रतियोगितामा ३० वटा खलः तथा पुचःले नाम दर्ता गरिसकेको जानकारी दिँदैं उहाँले ईमेलबाट पनि दर्ता गर्न सकिने व्यवस्था भएकाले अन्तिमसम्म लक्ष्य अनुसार ३२ वा सो भन्दा बढी खलः तथा पुचःको सहभागिता हुन सक्ने बताउनुभयो ।
प्रतियोगितामा उपत्यकाका भक्तपुर, चाँगुनारायण, बालाजु, ठेचो, गोकर्ण, धर्मस्थली, बज्रबाराही, किर्तिपुरलगायतका स्थानका धिमे खलः तथा पुचःले नाम दर्ता गरिसकेको संयोजक श्रेष्ठले बताउनुभयो ।
एउटा खलः वा पुचःबाट बढीमा दुई टोलीको सहभागिता हुनेछ । एउटा टोलीमा धिमे २, भुस्या २ र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँच जना बाद्यबाधकको सहभागिता हुनेछ । प्रत्येक सहभागी टोलीलाई पाँच मिनेटको समय दिईने र सहभागी टोलीले पाँच मिनेटको समयावढीभित्र प्रस्तुती टुंग्याउनु पर्नेछ ।
प्रतियोगितामा ४ जनाको निर्णायक टोली रहनेछ । निर्णायक मण्डलले प्रस्तोता टोलीको अनुशासन, समयको परिपालना, भेषभुषा, रचनाको छनोट, एक आपुमा तालमेल, प्रष्टता, बोल, ताल र लय हाउभाउको आधारमा अंक प्रदान गर्नेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोलाई नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तेस्रोलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, सान्त्वना पुरस्कार स्वरुप नगद ५ हजार, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।


प्रतियोगिता सञ्चालनको लागि नगरपालिकाले ५ लाख रुपैंया दिने निर्णय गरेको जानकारी दिँदैं संयोजक श्रेष्ठले नपुग रकम आयोजक समितिमा रहेका पदाधिकारी र अन्य ईच्छुक दाताले दिने स्वेच्छिक सहयोगले परिपुर्ती गरिने बताउनुभयो ।
प्रतियोगिताका लागि विगतमा जस्तो आर्थिक सहयोग संकलनका लागि कुनै संघ संस्थासँग अनुरोध नगर्ने तर स्वईच्छाले दिन आए लिने नीति बनाएका उल्लेख गर्दै उहाँले भन्नुभयो, “सोही अनुसार दाताहरु मध्ये कसैले शिल्ड सहयोग गर्ने, कसैले मेडल सहयोग गर्ने ईच्छा व्यक्त गरेका छन ।”
प्रतियोगितालाई सफल बनाउन मूल आयोजक समिति, प्रचार प्रसार, अतिथि सत्कार, मञ्च व्यवस्थापनलगायतका विभिन्न समिति उपसमिति गठन गरिएको संयोजक श्रेष्ठले बताउनुभयो ।
मध्यपुर थिमि उपत्यकाकै सबैभन्दा धेरै धिमे खलः भएको क्षेत्र हो । यहाँको बिस्काः जात्रामा एक साथ हजारौंको संख्यामा धिमे बाजा बज्ने गर्दछ । यहाँको मुर्तअमुर्त कला संस्कृतिको जगेर्ना गर्ने र नयाँ पुस्तामा पुस्तारण गर्नुका साथै बिस्काः जात्राको छुट्टै रौनक बढाउन धिमे बाजा प्रतियोगिता आयोजना गरिएको श्री श्री श्री विष्णुवीर धिमे खलःका अध्यक्ष ईन्द्रभक्त श्रेष्ठले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रदिप जामन श्रेष्ठले धिमे बाजा प्रतियोगिताको अवसरमा श्री श्री श्री विष्णुवीर नित्य आरती भजन खलःद्धारा निर्माण गरिएको ऐतिहासिक भजन गित जात्राया मालिक छलपोल वीर विष्णुवीर को श्रव्यदृष्य विमोचन गरिने जानकारी दिनुभयो ।
वडा नं. ४ का वडासदस्य उमेश श्रेष्ठले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिँदैं प्रतियोगिताको विविध पक्षका बारेमा जानकारी दिनुभएको थियो ।