डलर देखाई ठगी गरेको अभियोगमा ५ जना पक्राउ

भक्तपुर, चैत्र २२
काठमाण्डौ विभिन्न स्थानमा डलर देखाई ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धादिङ सुनौलो बजार गाउँपालिका–७ घर भई ललितपुर चापागाँउ बस्ने ३२ वर्षिय सुरेश कोइराला, धनकुटा बेलारा घर भई हाल काठमाण्डौं भंगाल बस्ने ३२ वर्षिय दिपक दमाई, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ सिङगाचै घर भई हाल काठमाण्डौं गोकर्ण नाम्गेल २४ वर्षिय विकाश तामाङ र २८ वर्षिय साजन तामाङ र बाह्रबिसे–५ सिखोरङ घर भई हाल काठमाण्डौं नयाँबस्ती बस्ने ३५ वर्षिय प्रेम बहादुर तामाङ छन ।
गोकर्णेश्वर तथा थानकोट लगायत काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा सस्तो दरमा अमेरिकी डलरसँग नेपाली रुपैँया साटिदिने भनी प्रलोभनमा पारी श्रृङखलावद्ध रुपमा ठगी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा उनीहरुलाई विशेष प्रहरी टोलीले मंगलवार काठमाण्डौको गोकर्णेश्वर न.पा. अत्तरखेल र नाम्खेलबाट नियन्त्रणमा लिएको हो ।
अनुसन्धानका क्रममा उनीहरुले पिडितहरुलाई फोन मार्फत सम्पर्क गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो दरमा साटीदिने प्रलोभनमा पार्ने गरेको खुल्न आएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले बताउनुभयो ।
१ र ५० दरका अमेरिकी डलर पिडित पक्षलाई प्रत्यक्ष देखाई विश्वासमा पार्ने र सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका साँगुरा गल्ली, पातलो मानवबस्ती र जंगल आसपासको स्थानमा बोलाई नेपाली नोट रु ५, १०, २० को साइजमा काटिएको कागज रुमालमा पोको पारी दिने र पिडितसँगको लाखौं नेपाली रुपैंया लिएर फरार हुने गरेको एसपी रेग्मीले भन्नुभयो ।
ठगी तथा लुटपाटमा संलग्न हुने त्यस्ता व्यक्तिहरुले विभिन्न नम्बरका मोबाईलहरु प्रयोग गर्ने र घटना पश्चात प्रयोग गरेका मोबाईलहरु पुनः प्रयोग नगर्ने गरेको साथै पिडितसँग त्यस्ता व्यक्तिहरुको हुलिया मात्र थाहा हुने गरेको पाईएको छ । पक्राउ परेका ब्यक्तिहरुले हालसम्म उपत्यका र उपत्यका बाहिर समेत गरी विभिन्न ६ वटा यस्तै प्रकृतिका ठगी घटनामा संलग्न रहेको खुलेको छ ।
पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौं पठाएको छ ।