चैत्र २० गते हुने एनएनआईपीए स्पोर्टस अवार्डको तयारी पुरा

भक्तपुर, चैत्र १८
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १७ औं संस्करणको एनएनआईपीए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । संघले शनिवार पत्रकार सम्मेलन गरी अवार्ड कार्यक्रमको तयारी पुरा भएको जनाएको हो । अवार्ड कार्यक्रम चैत्र २० गते सोमवार हुँदैंछ ।
अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान गरिने संघका महासचिव शिवसुन्दर गोथेले जानकारी दिए ।
यस पटक फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, सुटिङ, जुडो, ब्याडमिन्टन, आर्चरी, टेबल टेनिस, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्यास्टिक, हक्की, स्विमिङ, ट्रायथोलन, स्की, कुस्ती, बास्केटबल, कबड्डी, कराते, र्याफ्टिङ, भलिबल, तेक्वान्दो र लन टेनिसका खेलाडी सम्मानित हुनेछन् ।
त्यसैगरी, उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी स्वरुप सम्मानपत्र तथा नगर १ लाखले सम्मान गर्ने आयोजकले जनाएको छ । एक पुरुष तथा एक महिला प्रतिभाशाली खेलाडी सम्मान तथा एक पुरुष र एक महिलालाई उदयमान खेलाडी सम्मान प्रदान गरिनेछ । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गर्नेछन् । एकजना पाका खेलकर्मीलाई ३५ हजार बराबरको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिनेछ ।
एक खेलपत्रकारलाई एनएनआईपीए खेल पत्रकारीता पुरस्कार प्रदान गरिने समेत आयोजकले जानकारी गराएको छ । पत्रकारिता पुरस्कार प्राप्त गर्नेले २५ हजार प्राप्त गर्नेछन् । एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ । सो सम्मान प्राप्त गर्नेले १५ हजार प्राप्त गर्नेछन् ।