देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्छ – बिजुक्छें

भक्तपुर, चैत्र १८
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । स्थानीय उत्पादनबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले नासमना र तालाक्वमा आयोजना गरेको दुई दिने घरेलु मेलाको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले देशमै उत्पादन हुने सामग्रीहरु सबैले खरिद गरेर सहयोग गर्न विशेष जोड दिँदैं देशमा उत्पादन भएका घरेलु उत्पादन तथा सामग्रीहरुलाई उत्साहित गर्नुपर्ने बताउनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योगले नयाँ नयाँ रोजगारी सृजना गर्ने, आत्मनिर्भर बनाउने र देशको व्यापार घाटा कम गर्न टेवा पुर्याउने भएकाले घरेलु उद्योग देश विकासको आधार समेत भएको बताउनुभयो ।
वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोराले मेला भक्तपुरको मौलिक उत्पादन प्रचारप्रसार गर्न महत्वपूर्ण हुने बताउनुभयो ।
वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले स्थानीय उत्पादनलाई बढावा दिन र व्यापक प्रचारप्रसार नगरपालिकाले विभिन्न समयमा मेला तथा महोत्सवको आयोजना गर्दै आइरहेको बताउनुभयो ।


दुई दिनसम्म चल्ने मेलाको प्रमुख आकर्षणहरुमा भक्तपुरका मौलिक उत्पादनहरु, परम्परागत घरेलु उद्योगबाट उत्पादित वस्तु, काष्ठकला, धातुकला र प्रस्तरकलाहरु, हस्तकलाका सामाग्रीहरु, नेवारी खाजा स्टल र सांस्कृतिक प्रस्तुती रहेका छन् ।
भक्तपुर घरेलु तथा साना उद्योग संघ र पर्यटन विकास समितिको सहआयोजनामा आयोजित मेलाको प्रचारको लागि वडा नं. ८ जेँला टोलबाट दत्तात्रय, सलागणेश, नागपोखरी, महालक्ष्मी, भुलाछेँ, तुछिमला, तुलाछेँ, त्रिपुरासुन्दरी, दरबार क्षेत्र, खौमा, इताछेँ, बसपार्क, भार्वाचो, तेखापुखु, वंशगोपाल हुँदै नासमनामासम्म प्रभातकालिन पदयात्रा आयोजना गरिएको थियो ।