मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवसको अवसरमा अरनिको राजमार्गमा बृहत सरसफाई

भक्तपुर, चैत्र १४
मध्यपुर थिमि नगरपालिकाले नगरको मुख्य सडक अरनिको राजमार्गको मनोहरा पुल लोहल्थिलीदेखी राधेराधे हनुमन्ते पुलसम्म बृहत सरसफाई गरेको छ । नगरपालिकाको २७ औं स्थापना दिवसको अवसरमा मंगलवार हजारौंको सहभागितामा सो सरसफाई गरिएको हो ।
नगरपालिकाले मनोहरा पुल लोहल्थिलीदेखी राधेराधे हनुमन्ते पुलसम्मको सडक खण्डलाई चार भागमा विभाजन गरी सरसफाई गरिएको हो । जसअनुसार नगरप्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा वडा नं. ४, ६, ७ र ८ का जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु शंखधर चोकमा जम्मा भई गठ्ठाघरसम्मको सडक सरसफाई गरिएको छ ।


उपप्रमुख विजयकृष्ण श्रेष्ठको नेतृत्वमा वडा नं. ९ र ५ का प्रतिनिधिहरु राधेराधे चोकमा जम्मा भई शंखधरचोकसम्मको सडक सरसफाई गरिएको नगरपालिकाले जनाएको छ । यस्तै नगरप्रवक्ता एवम् स्थापना दिवस कार्यक्रम संयोजक तथा वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यको नेतृत्वमा वडा नं. ३ को प्रतिनिधिहरु कौशलटार चोकमा जम्मा भई गठ्ठाघर चोकसम्म र वडा नं. १ का वडा अध्यक्ष बाबुकाजी डंगोलको नेतृत्वमा वडा नं. १ र २ का प्रतिनिधिहरुले मनोहरा पुलदेखी कौशलटार चोकसम्म सरसफाई गरिएको हो ।
सरसफाई अभियानमा करिव २ हजारको सहभागिता रहेको थियो । नगरपालिकाको आह्वानमा स्थानीय सहकारी संघसंस्था, विद्यालय, स्काउट, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, नेपाली सेनाको भैरव वहान गण गठ्ठाघर, सशस्त्र प्रहरी बल दुवाकोट गण, प्रहरी वृत्त थिमि, प्रहरी प्रभाग सानोथिमि र बालकोटका प्रहरी, नगरपालिकाका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।


सरसफाईको क्रममा संकलित फोहोर नगरको फोहोर व्यवस्थापनमा साझेदारी गर्दै आइरहेको संघ संस्थाहरु दिव्यश्वरी सहयोगी हातहरु, फुलबारी र नेप्से म्याकलगायतले व्यवस्थापन गर्ने व्यवस्था गरिएको थियो ।
स्थापना दिवसको अवसरमा गरिएको बृहत सरसफाई कार्यक्रमलाई अभियानको रुपमा निरन्तरता दिने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
स्थापना दिवसकै अवसरमा नगरपालिकाले आज मंगलवार दिउँसो वडा नं. ८ बोडेमा बृहत ¥यालीसहित मुल समारोह कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा नगरका ज्येष्ठ नागरिक, उत्कृष्ट उपभोक्ता समिति, करदाता र कर्मचारीहरुलाई सम्मान गर्नुका साथै विविध कार्यक्रम आयोजना गरिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।