नेराकसं (निजामती)को शिक्षा विभाग कार्यसमिति पुनर्गठन

भक्तपुर, चैत्र १४
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष निमप्रकाश राठौर उपसचिवमा बढुवा भएपछि समिति पुनर्गठन गरिएको हो ।
संगठनका केन्द्रीय सचिव श्रीहरि श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार सानोठिमीमा सम्पन्न बिशेष सम्मेलनले गोपाल नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ शिक्षा विभागीय कार्यसमिति चयन गरेको हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा कार्यरत अधिकृत गोपाल नारायण श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षहरुमा प्रकाश खरेल र अवार लामा रहेका छन् । त्यसैगरी सचिवमा तारा पाण्डे, सहसचिवमा सरस्वती गुरागाईं र कोषाध्यक्षमा खिलनारायण श्रेष्ठ चयन भएका छन । सम्मेलनले निवर्तमान उपाध्यक्ष खिलानाथ धमला र उषा लामिछानेलाई केन्द्रीय प्रतिनिधि चयन गरेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कार्यसमितिको सदस्यहरुमा रेणुका अधिकारी, शुष्मा ओली, सरस्वती भट्टराई, लक्ष्मी भण्डारी, राधा ओली, शोभा गाहमगर, वालकृष्ण सिंखडा, जीवन नेपाल, साधुराम पौडेल, ओम बिक, युद्धबहादुर सुवेदी, युवराज अधिकारी राजन थापा र मिना थापा चयन भएका छन ।
सिंगो कार्यसमिति नै निर्विरोध भएको बताउदै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पेशागत हकहित र ट्रेड युनियन अधिकारको लागि मात्र नभई देशको शैक्षिक विकासका लागि समेत कार्यसमितिले रचनात्मक भूमिका खेल्ने प्रतिवद्धता प्रकट गरेका छन् ।
सानोठिमीमा सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमितिका पूर्व अध्यक्ष समेत रहेका केन्द्रीय सचिव श्रीहरि श्रेष्ठले संघीय शिक्षा ऐन र संघीय निजामती सेवा ऐन यथाशिघ्र जारी गर्न सरकारलाई संगठनले घच्घच्याइरहेको जानकारी गराउनुभयो । ऐनका लागि संगठनले रचनात्मक सुझाव दिएको र त्यसलाई सम्बोधन गरेर ऐन जारी गर्ने आश्वासन पाएको उल्लेख गर्दै सचिव श्रेष्ठले परिवर्तनका नायक प्रचण्डको नेतृत्वमा सरकार रहेकाले देशको शिक्षा र कर्मचारीतन्त्रको विकासका लागि उल्लेख्य कार्यहरु हुने विश्वास व्यक्त गर्नुभयो ।