भक्तपुरका एक सय १५ जना ज्येष्ठ नागरिक सम्मानित

भक्तपुर, चैत्र १३
भक्तपुरका एक सय १५ जना ज्येष्ठ नागरिकहरुलाई सोमबार एक भव्य समारोहबीच सम्मान गरिएको छ । सिद्धि गणेश वचत तथा श्रृण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरले संस्थामा सदस्य रहेका एक सय १५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
संस्थाकोतर्फबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको हो । संस्थाले प्रत्येक वर्ष संस्थाका ७० वर्ष नाघेका सदस्यहरुलाई वर्षमा एक पटक यसरी नै सम्मान गर्दै आएको जनाएको छ ।
संस्थाका अनुसार २०६९ सालबाट ज्येष्ठ नागरिक सम्मान कार्यक्रम थालेको थियो । वर्षमा एक पटक गरी गत वर्षसम्म ६ सय ७१ ज्येष्ठ नागरिकलाई सम्मान गरिसकेको संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले जानकारी दिनुभयो । ती मध्ये स्वास्थ्यलगायतको विविध कारण ३५ जना ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी हुन नसकेको उहाँले बताउनुभयो ।
संस्थामा हाल पाँंच सय ९७ जना ज्येष्ठ नागरिकहरु सदस्य रहेको र उनीहरुबाट ४२ करोड ८० लाख रुपैयाँं वचत भएको संस्थाले जनाइएको छ ।
संस्था भक्तपुरकै सवैभन्दा ठूलो सहरकारी संस्था मध्ये एक हो । यसमा कुल १६ हजार दुई सय १० सदस्य रहेका छन् । संस्थामा दुई अर्व ७० करोडको पुँजी रहेको जनाइएको छ ।


सो अवसरमा विजुक्छेंले बृद्धबृद्धाहरुको उचित स्याहारसुसारका लागि आदर निकेतनको आवश्यकताबारे चर्चा गर्नुभयो । अहिले परिवारका सदस्यहरु सवैजना व्यस्त रहने भएकाले परिवारका ज्येष्ठ नागरिकहरुलाई उचित स्याहारसुहार गर्ने समस्या भएको बताउँदैं ज्येष्ठ नागरिकहरुको उचित स्याहारसुसारका लागि आदर निकेतन सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका संयोजक डा. रत्नसुन्दर लासिवाले सहभागी ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य हेरविचारका विभिन्न पक्षहरुबारे जानकारी दिनुभयो । उहाँंले समयमै उपचार गरे रोगको निदान हुने भन्दै यसतर्फ ज्येष्ठ नागरिकहरुलाई सचेत रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सुविधा पनि प्रदान गरिएको थियो । उनीहरुका लागि त्यहाँं प्रेसर जाँच, हाडजोर्नी, डेण्टल र जनरल स्वास्थ्य सेवा उपलव्ध गराइएको थियो । साथै निशुल्क औषधि पनि वितरण गरिएको थियो ।