मध्यपुर थिमि नगरपालिकाले २७ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने

भक्तपुर, चैत्र १३
मध्यपुर थिमि नगरपालिकाले २७ औं स्थापना दिवस बुधवार भव्य र सभ्यरुपमा मनाउने भएको छ । यसका लागि नगरपालिकाले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
नगरपालिकाले स्थापना दिवसको अवसरमा वृहत सरसफाई अभियान सञ्चालन गर्ने भएको छ । सो अनुसार बिहान प्रत्येक वडा वडामा सरसफाई कार्यक्रम आयोजना गरिनेछ ।
यस्तै स्थापना दिवसको मुल समारोह वडा नं. ८ बोडेस्थित कुमारी द्यो परिसरमा हुनेछ । त्यसभन्दा अघि बोडेको खपलाबाट साँस्कृतिक झाँकीसहितको ¥याली मुल समारोह कार्यक्रम स्थल पुग्नेछ ।
स्थापना दिवसमा नगरपालिकाले विभिन्न क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । स्थापना दिवसको अवसरमा नगरपालिकाले ज्येष्ठ नागरिक सम्मान अन्तर्गत प्रत्येक वडाका एक पुरुष र एक महिला गरी दुई दुई जनालाई सम्मान गरिने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी नगरको विकास निर्माणका लागि वडा वडामा गठन भएका उपभोक्ता समितिहरु मध्ये उत्कृष्ट कार्य गर्ने एक उपभोक्ता समितिलाई पनि स्थापना दिवसको दिन सम्मान गर्ने भएको छ । उपभोक्ता समितिलाई गुणस्तरिय कार्य गराउन उत्प्रेरणा दिने उद्देश्यले उपभोक्ता समितिलाई सम्मान गर्ने परम्पराको विकास गर्न लागिएको नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।
स्थापना दिवसकै अवसरमा नगरपालिकाले नगरका करदाताहरु मध्ये सर्वोत्कृष्ट एक जनालाई पनि सम्मान गर्ने भएको छ । “नगरको आम्दानीको मुख्य स्रोत करदाता हुन । समयमा कर तिर्ने बानीको विकासको लागि पनि सर्वोत्कृष्ट करदातालाई सम्मान गर्ने निर्णय गरेका हौं,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।
यस्तै नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयलाई पनि सम्मान गर्ने भएको छ । नगरको शिक्षा विकासमा उल्लेख्य योगदान दिने एउटा संस्थागत र एउटा सामूदायिक गरी दुई विद्यालयलाई सम्मान गर्न लागिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
स्थापना दिवसकै अवसरमा नगरका कर्मचारीहरु मध्ये उत्कृष्ट एक जनालाई सम्मान गर्ने भएको छ । कर्मचारीहरुलाई दत्तचित्त भएर काममा लाग्न प्रेरणा दिने उद्देश्यले उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्न लागिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
यसैगरी स्थापना दिवसको अवसरमा हालै अवकाश प्राप्त नगरपालिकाका कर्मचारी र महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई पनि सम्मानसहित बिदाई गर्ने कार्यक्रम रहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिका स्थापना दिवसलाई सफल बनाउन नगरपालिकाले विभिन्न समिति उपसमिति समेत गठन गरेको छ । जस अनुसार नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ भने प्रचार प्रसार समिति, अतिथी सत्कार, सम्मानपत्र तथा कदरपत्र व्यवस्थापन, कार्यक्रम स्थल व्यवस्थापन, कार्यक्रम स्थल सुरक्षा व्यवस्थापनलगायतका समिति गठन गरिएको नगर प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले जानकारी दिनुभयो ।