बिस्काः जात्रा सभ्य र शान्तिपूर्ण रुपमा सञ्चालन गर्न ५ बुँदें निर्णय

भक्तपुर, चैत्र १२
भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गरी सम्पन्न गर्न विभिन्न सरोकारवालाहरुको बैठकले ५ बुँदें निर्णय गरी जिम्मेवारी प्रदान गरेको छ ।
भक्तपुर नगरपालिकाको अगुवाईमा आइतवार बसेको सरोकारवालाहरुको बैठकको निर्णयानुसार बिस्काः जात्रा शान्तिपूर्ण र भव्यताका साथ सम्पन्न गर्न जात्रा संचालन हुने सम्पूर्ण क्षेत्रहरुको सरसफाई र आवश्यक व्यवस्थापन तथा प्रचार प्रसार लगायतका कार्य भक्तपुर नगरपालिकाले गर्नेछ ।
यसैगरी जात्रा अवधिभर नगर क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी परिसरलगायतका सुरक्षा निकायलाई दिने, बिस्काः जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै शुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान भक्तपुरलाई जिम्मा दिने, बिस्का जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारीको लागि भैलः नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।
यस्तै बिस्काः जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रहरुमा रहेको तार, केबुल र फाइबर नेटका केबुलहरु व्यवस्थित गर्न सम्बन्धित सेवा प्रदायकहरुलाई जिम्मेवारी दिने र आवश्यक पत्राचार नगरपालिकाले गर्ने निर्णय गरेको छ ।
बैठकमा सांस्कृतिक तथा ऐतिहासिक बिस्काः जात्राको महत्वमाथि प्रकाश पार्दै प्रमुख प्रजापतिले २०७९÷८० को बिस्का जात्रा निर्धारित समयमा सुरक्षित ढंगले सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बिस्काः जात्रा भक्तपुरको मात्र नभई नेपालकै गौरवको जात्रा भएको बताउँदै जात्रा शान्तिपूर्ण र मर्यादित बनाउन सबै सरोकारवालाहरुले आआफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।
गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले जात्रा सफलतापूर्वक सम्पन्न गर्न भइरहेको आवश्यक तयारीहरुका बारेमा बैठकमा जानकारी गराउनुभयो ।
बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, इन्द्रबक्स गणका प्रतिनिधि, राष्ट्रिय अनुन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।