गुण्डुमा यातायात कार्यालयको भवन निर्माणको लागि सर्वदलिय र सर्वपक्षिय सहमति

भक्तपुर, चैत्र ११
भक्तपुरको गुण्डुमा प्रस्तावित यातायात कार्यालयको भवन निर्माणको प्रक्रिया शुरु गर्न सर्वदलिय र सर्वपक्षिय सहमति भएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका ७ नं. वडा कार्य समितिको आयोजनामा शनिवार सम्पन्न सर्वदलिय र सर्वपक्षिय भेलाले गुण्डुमा यातायात कार्यालय निर्माणको प्रक्रिया शुरु गर्ने विषयमा सहमति भएको हो ।
यसअघि निर्माणको प्रक्रिया शुरु भएपनि विविध कारणले स्थगित हुँदैं आएको थियो । उक्त भवन निर्माणको जस लिने होडबाजीले गर्दा पनि भवन निर्माणमा अवरोध आउने गरेको थियो ।
सर्वदलिय र सर्वपक्षिय भेलामा प्रस्तावित भवन निर्माणस्थलको माटो परीक्षण गरी प्राविधिक समस्या समाधान गर्दै अघि बढ्ने निर्णय भएको नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका ७ नं. वडा कार्य समितिका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको सचिवालय सदस्य जगदिश बस्नेतले जानकारी दिनुभयो ।


भेलामा सहभागीहरुले गुण्डुको मात्र नभई भक्तपुरको विकासमा समेत टेवा पुग्ने यातायात कार्यालयको भवन निर्माणमा राजनीतिक फाइदालाई मात्र जोडेर हेर्न नहुनेमा जोड दिएका थिए । सहभागीहरुले विगतमा भएका कमीकमजोरीलाई समेत सच्याएर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।
भेलामा प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियार बागमती प्रदेश शहरी विकास तथा भवन कार्यालयका प्रमुख महालक्ष्मी जोशी, नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति एवम् तत्कालिन गुण्डु गा बि स पुर्ब अध्यक्ष भेषबहादुर कार्की, नेपाली कांग्रेस भक्तपुरका सचिव सुशिल बस्नेत, नेपाल मजदुर किसान पार्टी, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका प्रतिनिधि, सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रबिन्द्र सापकोटा, निर्माण व्यवसायीका प्रतिनिधि र स्थानीय भद्रभलाद्मीहरुको सहभागिता रहेको थियो ।