नयाँ वर्षको अवसरमा भक्तपुरमा सातौं पर्यटन तथा व्यापार महोत्सव हुने

भक्तपुर, चैत्र ११
भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ आयोजना हुने भएको छ । नयाँ वर्ष २०८० को अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा उक्त महोत्सव हुने भएको हो ।
महोत्सव यही चैत्र २३ गतेदेखी २०८० बैशाख ३ गतेसम्म सञ्चालन हुने शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । महोत्सवमा २०० भन्दा बढी स्टल रहनेछन् । महोत्सवमा मानवीय जीवनमा दैनिक प्रयोगमा आउने सम्पूर्ण उपभोग्य सामग्रीहरु, खाद्यान्नका सामग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरुका स्टलहरु हुनेछ ।
यसैगरी कृषि तथा हस्तकलाका सामग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने महोत्सव आयोजक समितिका संयोजक एवम् जिल्ला खेलकुद समिति भक्तपुरका अध्यक्ष दिपक थापाले बताउनुभयो ।
महोत्सवमा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । उहाँले महोत्सवमा २० देखी ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।
“हामीले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हौं,” संयोजक थापाले भन्नुभयो ।


आयोजकका अनुसार महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहनेछ । महोत्सवमा हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुनेछ ।
महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र करिब स्टलहरुबाट करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । प्रवेश शुल्क रु. ५० र ७० रहेकोका विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताउनुभयो ।
बैशाख ४ गते भने विशेष सांस्कृतिक कार्यक्रम हुने र सो कार्यक्रमको टिकटको मुल्य रु. २०० रहेको आयोजकले जानकारी दिएको छ ।