वन पैदावरमा आधारित ९० दिने तालिम शुरु

भक्तपुर, चैत्र ११
डिभिजन वन कार्यालय भक्तपुरको आयोजनामा ९० दिने वन पैदावरमा आधारित फिनिसिङ एण्ड फिटिङ सम्बन्धी सीप विकास तालिम शुक्रवारबाट शुरु भएको छ । भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघको सहकार्यमा आयोजित उक्त तालिममा भक्तपुरका महिला र पुरुष गरी ४० जनाको सहभागिता रहेको छ ।
तालिम दुई स्थानमा सञ्चालन हुने डिभिजन वन कार्यालयका निमित्त डिभिजन वन अधिकृत प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । तालिममा उत्साहजनक सहभागिता रहेको बताउँदैं उहाँले यस्तो तालिमहरु सञ्चालनमा स्थानीय तहहरुको अग्रसरता रहे अझ उपयुक्त हुने बताउनुभयो ।
तालिमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भविष्यमा असल गुरु हुन असल शिष्य बन्नुपर्नेे बताउँदै तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई भविष्यमा आफू प्रशिक्षक हुने हिसाबले प्रशिक्षणमा कडा परिश्रम गर्न प्रेरित गर्नुभयो ।
भक्तपुर नगरपालिकाले परम्परागत शैलीमा घर निर्माण गर्नेलाई अनुदानको व्यवस्था गर्नुका साथै पुरानो नगरभित्र घर निर्माण गर्ने घरधनीहरुलाई घरको मोहदामा अनिवार्य काठको प्रयोग गर्नुपर्ने नीतिलाई अवलम्बन गर्दै आएको बताउनुभयो ।
सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका लागि सहज काठ उपलब्ध नहुँदा काठमाण्डौं उपत्यकाको मौलिकता हराउँदै गएको बताउँदै उहाँले सम्पदा पुनःनिर्माण तथा निजी घर निर्माणमा काठको अभाव हुँदा चाहेर पनि मौलिकता संरक्षण गर्न नसकिरहेको गुनासो गर्नुभयो ।
“कुनै पनि व्यक्तिमा सीप हुनु भनेको उसलाई आत्मनिर्भर बन्ने आधार तयार गर्नु हो । त्यसैले नगरपालिकाले नियमित रुपमा सिकर्मी, डकर्मीको तालिम सञ्चालनका साथै नगरबासीहरुलाई सीपमूलक तालिम सञ्चालनलाई निरन्तरता दिँदै आएको छ,” उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले ऐतिहासिक र सांस्कृतिक नगर भक्तपुरलाई जीवन्त बनाउन र यहाँका कलाकृतिको जगेर्नाको लागि हस्तकलाका सीपहरुको तालिम सञ्चालनले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
वन पैदावार उद्योग व्यवसायी महासंघका माधवमणि हुमागाइँले तालिमले काष्ठकलासम्बन्धी दक्ष जनशक्ति अभाव हुन नदिनुका साथै रोजगारी समेत सिर्जना गर्ने बताउँदै सरकारी कार्यालयहरुले स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।