वीर गणेशमान सिंह १० के रोड रेसमा राजपुरा र मुकेशलाई उपाधि

भक्तपुर, चैत्र ११
नेपाल पुलिस क्लबकी राजपुरा पछाई र त्रिभुवन आर्मी क्लबका मुकेश पालले चौंथो संस्करणको वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले शनिवार आयोजित प्रतियोगितामा राजपुराले महिलातर्फ राष्ट्रिय किर्तिमानसहित महिलातर्फको र निक्कै प्रतिष्पर्धाबीच मुकेशले पुरुषतर्फको उपाधि जितेका हुन ।
राजपुरा र राममाया दुवै एसियन क्रस कन्ट्रीका पदक विजेता खेलाडी हुन् । फागुन २३ गते गोकर्ण गल्फ रिसोर्टमा भएको एसियन क्रस कन्ट्रीमा राजपुराले सिनियर र राममायो जुनियरतर्फ रजत पदक जितेकी थिइन् ।


दरबारमार्गबाट सुरु भई सहरका विभिन्न भाग हुँदै पुनः दरबारमार्ग पुगेर सम्पन्न भएको दौडमा राजपुराले ३६ मिनेट ४३.२ सेकेन्डको कीर्तिमानसहित पहिलो स्थान हासिल गरिन् । राजपुराले आफ्नै कीर्तिमान भंग गरेकी थिइन् । यसअघि उनको नाममा ३७ मिनेट १०.५ सेकेन्डको कीर्तिमान थियो ।


पुलिसकै राममाया बुढाले ३७ मिनेट ५४.१५ सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरिन् । तेस्रो स्थानमा रहेकी एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट २६.०३ सेकेण्डमा दौड पूरा गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (३९ मिनेट ०२.३५ सेकेन्ड) चौथो र एपिएफकी विन्द्रा धन्के श्रेष्ठ (३९ मिनेट २५.०६ सेकेन्ड) पाँचौं भइन् ।


महिलामा आर्मीकी गीता विक, पुलिसकी सुमित्रा चौधरी, आर्मीकी रेखा लिम्बु, स्वयम्भु एथलेटिक्स क्लबकी सोनु घतानी र अरुणा अधिकारी क्रमशः तेस्रो देखि १०औं भइन् ।
पुरुषमा तीब्र प्रतिस्पर्धाकाबीच मुकेशले पहिलो स्थान प्राप्त गरेका हुन् । उनले ३१ मिनेट २१.७६ सेकेन्डमा दौड पूरा गरेका थिए । अघिल्ला तीन संस्करणका विजेता एपिएफका गोपीचन्द्र पार्की दोस्रो भए । गोपीे ३१ मिनेट ३८.६८ सेकेन्डमा दौड पूरा गरेका थिए ।
गत महिना भएको एसियन क्रस कन्ट्रीका स्वर्ण पदक विजेता दीपक अधिकारी तेस्रो भए । दीपकले ३१ मिनेट ४७.४२ सेकेन्डमा दौड पूरा गरेका थिए । आर्मीका सन्जय श्रेष्ठ (३२ मिनेट १०.०२ सेकेन्ड) चौथो र केन्यका सिमोन किपागट टु (३२ मिनेट ३३.९९ सेकेन्ड) पाँचौं भएको थिए ।
पुरुषतर्फ आर्मीका राजन रोकाय, आर्मीका सुशिल कुमार शाही, एपिएफका राजेन्द्र तामाङ, आर्मीका खगेन्द्र भाट तथा प्रताप थाम्सुङ क्रमश चौथोदेखि १०औं भए ।

प्रतियोगिताको महिला र पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् । चौंथोले १० हजार र पाँचौंले ५ हजार प्राप्त गरेका छन् । राष्ट्रिय कीर्तिमान बनाएकी राजपुराले थप १० हजार रुपैयाँ प्राप्त गरेकी थिइन् । रेसमा झण्डै ४ सय खेलाडीले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
विजेता खेलाडीलाई प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ , वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिका संयोजक सन्जिब तुलाधर, एथलेटिक्स संघका अध्यक्ष राजिब बिक्रम शाह लगायतले पुरस्कृत गरे ।