राधेराधेमा लडेर बेहोश भएका सशस्त्रका प्रसनि ढुंगेलको मृत्यु

भक्तपुर, चैत्र ५
भक्तपुरको राधेराधे चोकमा अचानक लडेर बेहोश भएका सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरिक्षक तिर्थ ढुंगेलको उपचारको क्रममा मृत्यु भएको छ । काठमाण्डौं नागाजुर्न घर भई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकको बैण्ड गुल्ममा कार्यरत ४३ वर्षिय प्रसनि ढुंगेल शनिवार साँझ मध्यपुर थिमि ९ राधेराधेस्थित प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्कने क्रममा अचानक लडेर बेहोश भएका थिए ।
उनलाई उपचारका लागि एक महिला र एक किशोरले बा २ ज २४५६ नं.को ट्याक्सीमा नजिकको मध्यपुर अस्पताल लगिएकोमा त्यही उपचारको क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताउनुभयो ।
सो घटनाको सम्बन्धमा घटनास्थल वरपरका प्रत्यक्षदर्शीलगायतका व्यक्तिहरु र ट्याक्सी चालक समेतसँग आवश्यक सोधपुछका साथै थप अनुसन्धान कार्य भइरहेको एसपी केसीले बताउनुभयो ।