रोड रेसमा मुकेश र राजपुरालाई स्वर्ण

भक्तपुर, चैत्र ५
नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईंले तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसमा स्वर्ण पदक जितेका छन । रन क्लव नेपालद्धारा शनिवार आयोजित प्रतियोगितामा खुलातर्फ पुरुषमा मुकेश र महिलामा राजपुराले स्वर्ण जितेका हुन ।
दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट २२.९ सेकेन्डमा पूरा गरे । आर्मीकै सञ्जय श्रेष्ठ दोश्रो तथा गजेन्द्र राई तेश्रो भए । निर्धारित दूरी तय गर्न सञ्जयले १५ मिनेट २७.५ सेकेन्ड तथा गजेन्द्रले १५ मिनेट ३१.९ सेकेन्ड समय खर्चे ।
राजपुराले शीर्ष स्थान हात पार्ने क्रममा १८ मिनेट १६.२ सेकेन्ड समय निकालिन् । दोश्रो भएकी प्रहरीकै राममाया बुढाले १८ मिनेट १६.५१ सेकेन्डमा दौड सकाइन् । तेश्रो स्थानकी आर्मीकी पुरनलक्ष्मी न्यौपानेको टाइमिङ १८ मिनेट १७.०५ सेकेन्ड रह्यो । पुरुष÷महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार पाए ।
स्कुलतर्फ छात्रमा विकेश घिमिरे पहिलो तथा नवराज गुरुङ दोश्रो भए । सो स्पर्धाको छात्रामा सोनु घतानीले स्वर्ण, पुर्णिमा श्रेष्ठले रजत तथा जेशिका महर्जनले कांस्य जिते । छात्र÷छात्रामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई म्याराथनका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट, नेपाल ¥याफटिङ एन्ड क्यानोइङ संघका कार्यवाहक अध्यक्ष राजीव श्रेष्ठ, पूर्व धावक बुद्धवीर लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौडमा २ सय प्रतिस्पर्धीले सहभागिता जनाएको आयोजक रन क्लब नेपालका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । दौड ठमेलस्थित छाँया सेन्टरको प्राङ्गणबाट सुरु भइ त्यही आएर टुंगिएको थियो ।