ताथलीको इँटा उद्योगमा बेलायती सांसदको अवलोकन

भक्तपुर, चैत्र २
बेलायती सांसदहरुको टोलीले भक्तपुरको श्वेत भैरब फिक्स इँटा उद्योगको अवलोकन भ्रमण गरेका छन । चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको फैढोकास्थित सो इँटा उद्योगमा बेलायतका ७ जना सांसदको टोलीले अवलोकन भ्रमण गरेको हो ।
नेपालमा मात्र नभएर दक्षिण एसियाकै नमूना र प्रदूषणमुक्त इँटा उद्योगको परिचय बनाउन सफल सो इँटा उद्योगको राम्रो अभ्यासबारे बुझ्न सांसदहरूको टोलीले भ्रमण गरेको हो ।
भ्रमणको क्रममा इँटा उद्योगले प्रदूषण न्यूनीकरण र उर्जा खपतका लागि गरिरहेको प्रयासका विभिन्न अभ्यासहरुको अवलोकनमात्र नगरी सांसदहरुले इँटा उत्पादनको प्रारम्भिक अवलोकन समेत गर्नुभयो । साथै उद्योगको जिकज्याक प्रविधिप्रति बेलायती सांसदहरुले चासो देखाएका थिए । ईट्टा उत्पादन प्रकृयाको स्थलगत अवलोकन गर्दै ती सांसदहरुले आफै माटो चलाए भने भट्टीमा कोइला खन्याए ।


नेपालमा ईट्टा भट्टाको वातावरणीय प्रभावलाई नजिकबाट हेर्दै प्राविधिक सहयोग गदैआएको इसिमोडको कार्य सम्पादनको प्रभावको अवस्था हेर्न सांसदहरुको टोलीले श्वेत भैरब फिक्स इँटा उद्योग रोजेको बेलायती राजदूतावासमा जलवायु परिवर्तन र वातावरण हेर्ने अधिकारी युगान मानन्धरले बताउनुभयो ।
इसिमोडका विद्या प्रधानले नेपालमा ईट्टा भट्टाको विकासक्रम र यसले वातावरणमा पारेको प्रभाव न्यूनीकरणका लागि बेलायत सरकारले गर्दै आएको आर्थिक भौतिक सहयोगको अवस्थाबारे अध्ययन गर्न सांसदहरु नेपाल आएको जानकारी दिनुभयो ।
उहाँले भक्तपुरका ईट्टा उद्योगहरु क्रमशः प्रविधिमैत्री र प्रदूषण न्यूनीकरणतर्फ उन्मुख हुँदै गइरहेको पाइएको सांसदहरुले बताएको जानकारी दिनुभयो । ‘पहिला धेरै प्रदूषण हुने गरेकोमा अहिले सुधार भइरहेको छ । ईट्टा भट्टामा प्रविधिको प्रयोगद्वारा सुधार र व्यवस्थित भएको पाइएको एक बेलायती सांसदले प्रतिक्रिया दिए’, उहाँले भन्नुभयो ।
अवलोकनको क्रममा दक्षिण एसियाली ईटा उद्योग व्यवसायी संघका अध्यक्ष एवं नेपाल ईट्टा उद्योग महासंघका पूर्व अध्यक्ष महेन्द्र चित्रकारले विकसित देश बेलायतका सासंदहरु नै दंग भएर नेपालको ईट्टा भट्टाको प्रविधिको अवलोकन भएकोमा खुसी व्यक्त गर्नुभयो ।


भक्तपुर ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष नातीभाइ ह्याम्बाले भक्तपुरमा सञ्चालित सबै ईट्टा भट्टाले जिकज्याक प्रविधिबाट ईट्टा उत्पादन गर्न थालिसकेकाले सरकारको मापदण्डभन्दा कम मात्रै वातावरण प्रदुषण भइरहेको बताउनुभयो ।
भट्टाका प्रवन्धक तथा इसिमोड ईट्टा भट्टा प्रविधिका उपसंयोजक राजकुमार लाखेमरुले ईट्टा उत्पादनका लागि भट्टाको भट्टीमा बाल्ने इन्धनलाई जिकज्याक गरी पूर्णरुपमा बालेर धुवा ननिस्कने गरी बनाएको प्रविधिको बेलायती सांसदहरुले अभिरुचिपूर्वक अध्ययन गरेको बताउनुभयो । भ्रमणमा बेलायती सांसद सराह च्याम्पियन, रिकार्ड ब्याकन, पाउलिन लाथम, निगेल मिल्स, नर्भेन्दु मिश्र, काटे ओश्मार र वीरेन्द्र शर्मालगायत सहभागी रहेका थिए ।