नेपाली टोली विश्वकप छनोट खेल्ने संघारमा

भक्तपुर, चैत्र २
नेपाली राष्ट्रिय क्रिकेट टोली टेष्ट राष्ट्रसँग खेल्ने अवसरको संघारमा रहेको छ । आइसीसी विश्वकप लिग २ को अन्तिम खेलमा आज बिहिवार नेपाली टोली किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईसँग प्रतिष्पर्धा गर्दैछ । जुन खेलमा जित हात पारे नेपालले सन् २०२४ को आइसीसी विश्वकपका लागि आगामी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने अवसर प्राप्त गर्नेछ, जहाँ नेपालको भेट टेष्ट मान्यता प्राप्त राष्ट्रसँग हुनेछ ।
लिग २ मा नेपाल ३८ अंकका चौंथो स्थानमा रहेको छ । स्कटल्याण्ड र ओमानले विश्वकप छनोटमा स्थान बनाइसकेको अवस्थामा तेस्रो स्थानको नामिवियालाई उछिन्दै नेपालले सिधै विश्वकप छनोट खेल्न आज युएईलाई हराउने पर्ने बाध्यता रहेको छ । खेलमा कुनै पनि प्रकारले अंक बाड्नुपर्ने अवस्था आए नेपालले सिधै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ । त्यसपछि प्लेअफको बाटो अंगाल्नुपर्नेछ ।
एक महिना अगाडिसम्म ‘एकदिवसीय अन्तर्राष्ट्रिय’ राष्ट्रको मान्यता गुमाउने अवस्थामा नेपाली क्रिकेट रहेको थियो । नयाँ प्रशिक्षकको रुपमा मोन्टी देसाईको आगमनसँगै नेपाली टोलीले गज्जबको क्रिकेट खेल्दै आएको छ । पछिल्ला ११ खेलमा १० जित यसको बलियो प्रमाण हो ।
नेपाली टोली अहिले उच्च लयबाट अगाडि बढिरहेको छ । बलिङ, व्याटिङ र फिल्डिङ सबैतिर नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । अझ टियु मैदानमा नेपाली क्रिकेट समर्थकको जबरजस्त उपस्थितीले नेपाली टोलीलाई थप हौसला प्रदान गरिरहेको छ ।
विश्वकप छनोटमा १० राष्ट्र सहभागी हुनेछ । त्यसबाट शीर्ष २ टोलीले विश्वकप खेल्ने अवसर पाउनेछ । १० राष्ट्रहरू विभिन्न तीन वटा माध्यमबाट छनोट हुनेछन् । ती हुन् ‘सुपर लीग’ को पुछारमा रहेको पाँच राष्ट्र, विश्वकप लीग–२ को शीर्ष तीन राष्ट्र र प्ले अफका शीर्ष दुई राष्ट्र ।

सुपर लिग भनेको आइसीसीको पूर्ण सदस्य रहेको टेस्ट खेल्ने १२ राष्ट्र र नेदरल्यान्ड्स सम्मिलित प्रतियोगिता हो । नेदरल्यान्ड्सले आइसीसी क्रिकेट विश्वकप लिग च्याम्पियनसिप जितेको आधारमा सुपर लिग खेल्ने अवसर पाएको हो ।
यी १३ मध्ये आठ राष्ट्र सिधै विश्वकपमा छनोट हुनेछन् भने पुछारमा रहेको पाँच टोली विश्वकप छनोट खेल्नेछ ।
आयोजक राष्ट्रको नाताले भारत स्वतः विश्वकपमा छानिएको छ भने अफगानिस्तान, अस्ट्रेलिया, बाङ्गलादेश, इङल्याण्ड, न्युजिल्यान्ड र पाकिस्तान गरी ७ राष्ट्रहरू आवश्यक अङ्कका साथ विश्वकपमा पुगिसकेका छन् ।
यो समूहबाट अब एउटा राष्ट्र मात्रै विश्वकपमा छनोट हुन बाँकी छ । त्यसमा श्रीलङ्का, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्डबीच प्रतिस्पर्धा चलिरहेको छ ।
यी चार मध्ये एक टोली विश्वकपमा पुग्दा बाँकी तीन टोली छनोटमा झर्नेछ । १२औँ र १३औँ स्थानमा रहेर आयोजक जिम्बाब्वे र नेदरल्यान्ड्स पहिले नै क्वालिफायरमा झरिसकेका छन् ।
नेपाल आज स्पष्ट जितबाट बञ्जित भए विश्वकप छनोट खेल्नका लागि प्लेअफ खेल्नुपर्ने हुन्छ, जुन अर्को महिनामा नामिवियामा हुँदैछ । प्ले अफ ६ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ ।
यसमा विश्वकप लीग–२ को सात मध्ये तालिकाको पुछारमा रहेका चार राष्ट्र तथा एसोसियट राष्ट्रहरूबीच खेलिएको च्यालेञ्ज लिगका शीर्ष दुई टोली यसमा सहभागी हुनेछन् । च्यालेञ्ज लिगबाट न्यु जर्सी र क्यानडा छानिसकिएका छन् । यस्तै लीग–२ बाट अमेरिका, यूएई र पपुवा न्यूगिनीको स्थान पक्का भइसकेको छ । युएईसँग अंक बाँडेमा नेपालले यो प्ले अफ खेल्नुपर्नेछ । प्ले अफमा शीर्ष–२ मा पर्ने राष्ट्रहरू मात्र विश्वकप छनोटमा पुग्ने छन् ।