सूर्यविनायक–धुलिखेल सडकमा मन्दिर स्थानान्तरण र ७१ घर भत्काउनु पर्ने

भक्तपुर, चैत्र २
सूर्यविनायक–धुलिखेल सडक बिस्तार गर्दा ढल, सडक बत्ती, हरियाली र सुरक्षा मापदण्डलगायत थप व्यवस्थित बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।
सूर्यविनायक–धुलिखेल सडक बिस्तार आयोजना सम्बन्धमा बुधवार जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरक्रियामा सहभागीहरुले आयोजना समयमा सम्पन्न हुनुपर्ने, सडक निर्माण गर्दा धूलो नियन्त्रणलगायतका विषयमा समेत ध्यान दिनुपर्ने सुझाव दिएका छन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आयोजना समयमा सम्पन्न गर्न आपसी सहयोग र समन्वयको आवश्यकता औल्याउनुभयो । उहाँले सम्भावित समस्याहरुको पहिल्यै हल खोज्नुपर्नेमा जोड दिनुभयो ।
आयोजनाको निर्माण जिम्मा पाएको आसिस कुमार श्रेष्ठ बन्दन भगवती जेभीले सडक निर्माणका लागि पाँच सय रुख कटान भइसकेको, आयोजना क्षेत्रभित्रे ७१ वटा घर भत्काउनुपर्ने र केही मन्दिर समेत पर्ने भएकाले त्यसलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।
ठेकेदार कम्पनीका प्रतिनिधिले निर्माण प्रयोजनका लागि करिब ८ लाख घनमिटर माटो आवश्यक पर्ने, क्रसर चलाउनुपर्ने लगायत प्रयोजनका लागि जग्गा समेत आवश्यक भएको बताउँदैं निर्माण सामग्री ओसारपसारका लागि दिउँसो पनि टिफर चलाउन पाउनुपर्ने माग गरेका थिए ।
आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले योजनामा केहि व्यवहारिक कुरा फेरबदल गर्न सकिने संकेत गर्दै स्थानीय प्रशासन, जनप्रतिनिधि र जनसमुदायको आवश्यक सहयोगको अपेक्षा गर्नुभयो ।
भक्तपुर वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवांले अहिले नै योजनामा सडक बीच राखिने आकाशे पुलहरु निश्चित हुनुपर्ने, सडक बत्ती प्रभावकारी पारिनुपर्ने, धुलो नियन्त्रणको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
सूर्यविनायक वडा नम्बर ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले सार्वजनिक सुनुवाई गरेर मात्र आयोजनाको काम थाल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सडक प्रभावित क्षेत्रका वडाध्यक्षहरु उपेन्द्र सुवाल, भगवान खत्री, शिवराम राउत, भक्तपुरस्थित सुरक्षा निकायका प्रमुखहरु प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसी, सशस्त्र प्रहरी बल भक्तपुर प्रमुख दिनेश महत, उप अनुसन्धान निर्देशक प्रकाश आचार्य, इन्द्रबक्स गणका सेनानी काजी बोहोरा, निर्माण कम्पनीका प्रतिनिधि, आयोजनाका अधिकारीहरु, नागरिक समाज र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
सूर्यविनायक–धुलिखेल सडक बिस्तार आयोजना ३ वर्षभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का प्रक्रिया पुरा भई ३ महिना अघिदेखी निर्माण कार्य शुरु भइसकेको छ ।