भक्तपुरका नीजि अस्पतालका फार्मेसीमा अनियमितता, ११० प्रतिशतसम्म नाफा

भक्तपुर, चैत्र १
भक्तपुरका नीजि अस्पतालमा अनियमितता भेटिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा मंगवार गरिएको अनुगमनका क्रममा जिल्लामा ठुला नीजि अस्पतालमा अनियमितता भेटिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा नेतृत्वको टोलीले अनगुमनमा क्रममा अस्पतालको फार्मेसीहरुले नियम विपरित चर्को मुल्य लिएर अनियमितता गरेको भेटिएको हो । टोलीले जिल्लाको मध्यपुर अस्पताल, भक्तपुर ईन्टरनेसनल अस्पताल, नागरिक सामुदायिक अस्पताल र समिट अस्पतालमा अनुगमन गरेको हो ।
उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्यामा गरिएको अनुगमनका क्रममा थिमिको मध्यपुर अस्पताल, गठ्ठाघरको नागरिक सामुदायिक अस्पताल र लोहकिल्थलीस्थित समिट अस्पतालको फार्मेसीले चर्को नाफा लिएको भेटिएको हो ।
ती अस्पतालका फार्मेसीले नियमानुसार लिन पाउने नाफाको अतिरिक्त खरिद मूल्यमा ३० देखि ११० प्रतिशत सम्म बढी मूल्य राखेर बिक्रि गरिरहेको पाइएको अधिकारकर्मी एवं अनुगमन समितिका सदस्य मनोज थापाले जानकारी दिनुभयो । औषधीमा भन्दा सर्जिकल सामग्रीमा बढी मूल्य राखिएको उहाँले बताउनुभयो ।


घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेश कुमार दाहालले दिएको जानकारी अनुसार फार्मेसी सञ्चालकले खरिद मूल्यमा सोह्र प्रतिसत भन्दा बढी नाफा राखी बिक्रि गर्न नपाइने व्यवस्था गरिएको छ । “२० प्रतिशतसम्म नाफा लिन छुट भएपनि त्यसका अतिरिक्त ११० प्रतिशतसम्म बढी असुल गर्नु कानुन बिपरित हो,” उहाँले भन्नुभयो ।
अस्पतालका फार्मेसीहरुले लागू औषधको रुपमा प्रयोग हुन सक्ने औषधीलाई छुट्याएर नराखेको, प्रेसक्रिप्सन विना नागरिक अस्पतालले यस्ता औषधी बिक्रीवितरण गरेको पाइएको उद्योग बाणिज्य संघका सचिव एवं समितिका सदस्य विश्वभक्त दुवालले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा समिट अस्पतालले म्याद नाघेका औषधी पनि सँगै राखेको पाईएको थियो भने औषधी राखेको फ्रिजमा तरकारी पनि राखेको पाईएको थियो । औषधीमा तरकारी मिसाएर राख्नु गम्भीर लापरवाही भएको स्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत दिपक अछामीले जानकारी दिनुभयो ।


अनुगमन समितिका संयोजक एवं सहायक प्रजिअ माधव प्रसाद शर्मा घिमिरेले राजमार्ग किनारका अस्पतालले सञ्चालन गरेका फार्मेसीमा बढी मुल्य राखिएका र केही प्राविधिक कमजोरी देखिएको पुष्टि गर्नुभयो । “उनीहरुलाई फार्मेसी सञ्चालनको अनुमती पत्र लगायत कागजपत्र लिएर ३ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौं,” उहाँले भन्नुभयो । उनीहरुलाई प्रचलित कानुन अनुसार कारवाही हुने उहाँले बताउनुभयो ।
अनुगमनमा मध्यपुर थिमि नगरपालिकाका स्वास्थ्य शाखाका अधिकारीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मीहरु समेत सम्मिलित रहेका थिए ।