मुहान पोखरी बहुउद्देश्य परियोजना निर्माणका लागि पहल गर्नेछु – सांसद थापा

भक्तपुर, फागुन २७
प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्नो पाँच वर्षे कार्यकालमा मुहान पोखरी बहुउद्देश्य परियोजना निर्माण गर्न आवश्यक पहल गर्ने बताउनुभएको छ ।
चाँगुनारायण नगरपालिकाको सातौं स्थापना दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा सांसद थापाले चाँगुनारायण र जिल्लाको उत्तर पुर्वी भेगको समृद्धि र खानेपानी समस्याको दिर्घकालिन समाधानका लागि उक्त परियोजना सम्पन्न हुनुपर्ने र त्यसको लागि पहल गर्ने बताउनुभएको हो । उहाँले त्यसका लागि यसक्षेत्रका राजनीतिक दल र जनप्रतिनिधिहरुले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
“मेरो एउटा सपना छ । यहाँ मुहान पोखरी बहुउद्देश्य परियोजना छ । यो पाँच वर्षे कार्यकालमा यसलाई सफल बनाउन सकियो भने चाँगुनारायण नगरपालिकाको मुहार फेरिन सक्छ । चाँगुनारायण नगरपालिका मात्र होइन समग्र क्षेत्रको मुहार फेरिन सक्छ । भक्तपुर नगरपालिकाभित्र खानेपानीको सहज पहुँच पुग्न सक्छ,” उहाँले भन्नुभयो ।


उहाँले राजनीतिक दलको प्रतिनिधिको रुपमा निर्वाचनमा उम्मेदवार बनेपनि निर्वाचित भइसकेपछि जनताको प्रतिनिधिको रुपमा काम गर्नुपर्नेमा जोड दिँदैं चाँगुनारायण नगरपालिकामा सबै दलको प्रतिनिधिहरु रहेकोले विकास निर्माण पनि सबै दल मिलेर अघि बढ्न सुझाव दिनुभयो ।
“यहाँ सबै दलको प्रतिनिधि रहेको छ । विकास निर्माणका काममा म यो पार्टीको प्रतिनिधि, उ अर्को पार्टीको प्रतिनिधि भनेर नभनौ,” उहाँले भन्नुभयो, “संघिय सांसद भएको नाताले मेरो र बागमती प्रदेशमा प्रतिनिधित्व गर्नुहुने सांसदहरुको समेत साथ रहनेछ ।”


बागमती प्रदेश सभा सदस्य किरण थापाले चाँगुनारायण पर्यटन, कृषिको धेरै सम्भाब्यता बोकेको नगर भएको चर्चा गर्दै यसतर्फ नगरपालिकाको ध्यान जानुपर्ने जरुरी रहेको बताउनुभयो ।
चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पछिल्ला केही वर्ष यता बस्ती विकाससँगै जनसंख्या वृद्धि भैरहेकोले यहाँको आधारभुत आवश्यकता समेत बृद्धि भएको अवस्थामा दुई नगरपालिकाले हातेमालो र सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


बागमती प्रदेश सभाका अर्का सांसद सुरेश श्रेष्ठले नगरको विकासका लागि प्रदेश सरकारमा आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाको साझा समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन, मनोहरा खोलाको बहाव नियन्त्रण, दुई नगरपालिकाको सिमानामा सडक निर्माण, ढल व्यवस्थापनलगायतका सवालमा सहकार्य र हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक दलका तर्फबाट नेकपा एमालेका नगर अध्यक्ष रामप्रसाद तिमल्सिनाले नगरको विकासमा कुनै राजनीतिक आग्रह पुर्वाग्रह नराखी सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य एवम् भक्तपुर शाखा सभापति मनोज थापाले भक्तपुरका बासिन्दाले बिरामी हुँदा आवश्यक रगत निःशुल्क पाइरहेको बताउँदैं त्यसको शुरुवात चाँगुनारायण नगरपालिकाले गरेको जानकारी दिनुभयो ।


नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले समृद्ध चाँगुनारायणको लक्ष्य प्राप्तीका लागि चाँगुनारायणको मुल नारा र नगर गानमा उल्लेखित उद्देश्य प्राप्तीको लक्ष्यमा अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले न्यायिक समितिमा आउने कतिपय समस्या र कृषि क्षेत्रको समस्या समाधानको लागि पालिकाको अधिकार अपुग भएको महशुस भएको बताउँदैं त्यस्तो विषयमा आवश्यक कानुन तर्जुमा लागि संघिय सरकारमा पहल गर्न सांसदहरुलाई आग्रह गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरामणी सुवेदीले नगरको विकासमा सरोकारवाला सबैको रचनात्मक सहयोगको खाँचो रहेको बताउनुभयो ।
नगरप्रमुख जीवन खत्रीले समृद्ध चाँगुनारायणको लक्ष्य हासिल गर्न सबैसँग सहकार्य र हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।


नगरप्रवक्ता एवम् वडा नं. ८ का वडाअध्यक्ष जनक खत्री, वडा नं. ९ का वडाअध्यक्ष गणेश त्यात र कार्यपालिका सदस्य सरिता लामिछानेले नगरका गतिविधिहरुको चर्चा गरेको कार्यक्रममा नगरपालिकाका अधिकृत निलाकुमारी घिमिरेले नगरपालिका स्थापना कालदेखी हालसम्मको विकास निर्माणका गतिविधि, संरचनागत गतिविधि, मुख्य कार्यक्रम र उपलब्धी, कर्मचारी प्रशासन, कार्यक्रमगत उपलब्धीहरु, नगरपालिकाको चुनौती र आगामी कार्यदिशाका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।