पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित

भक्तपुर, फागुन २६
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । राष्ट्रपतिको लागि बिहीबार भएको निर्वाचनमा पौडेल ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनुभएको हो ।
संसदमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा नेपालको समर्थनमा उम्मेदवार बन्नुभएका पौडेललाई मतदानका बेला राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र सांसदहरुले समेत समर्थन गर्दै मतदान गरेका थिए ।
उहाँले राष्ट्रपतिका उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्नुभएको हो । नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गर्नुभयो । नेम्वाङलाई एमालेका सांसदहरुले मात्र मतदान गरेका थिए ।
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले भने भाग लिएन ।

पौडेलको जन्म वि. सं. २००१ असोज २९ गते तनहुँको मिर्लुङ, बाहुनपोखरामा मध्यमवर्गीय किसान परिवारमा भएको हो । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले प्रजातन्त्र र जननिर्वाचित सरकार अपदस्त गरेपछि पौडेल त्यसको विरोध गर्दै राजनीतिमा होमिनु भएको हो ।
कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा सहभागिता जनाएका पौडेल विद्यार्थी राजनीतिमा सक्रिय हुनुभयो । उहाँ २०२३ मा सरस्वती क्याम्पसको स्ववियु सभापति बन्नुभयो । ०२७ सालमा स्थापना भएको नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य समेत हुनुभयो ।
कांग्रेसमा वि पी र सुवर्ण शमशेरबीच मनमुटाव हुँदा उहाँले दुई नेताको सम्बन्ध सेतुको काम गर्नुभयो । ०३३ सालमा बीपी मेलमिलापको नीति लिएर भारतको निर्वासनबाट स्वदेश फर्केपछि पौडेलले वि पि निकट रहेर काम गर्नुभयो ।
०४४ सालमा कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल ०४६ सालमा प्रजातन्त्रको पुनसर््थापनापछि ०४८ मा भएको चुनावमा तनहुँ १ बाट निर्वाचित हुनुभयो । त्यसबेला उहाँ छोटो समय मन्त्री हुनुभयो । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट निर्वाचन जितेका पौडेल ५ वर्ष सभामुख बन्नुभयो । ०५६ सालमा तनहुँ २ बाट चुनाव जितेका उनले ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो ।
नेता पौडेल गिरिजाप्रसाद कोइराला लगायतका नेताहरुसँगै शाही शासनविरुद्ध सडकमा उभिएका थिए । ०६२÷०६३ को जनआन्दोलन सफल भएसँगै माओवादी शान्ति प्रक्रियामा आयो, पौडेल शान्ति तथा पुनर्निमाण मन्त्री हुनुभयो ।
पौडेलसँग प्रधानमन्त्री पदमा १७ पटकको पराजय व्यहोरेको नमिठो अनुभव रहेको छ । २०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, माओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले उम्मेदवारी दिएका थिए ।
संवैधानिक प्रावधान अनुसारको ५१ प्रतिशत मत नपाएपछि पटकपटक प्रतिस्पर्धा भयो । १७ पटक प्रतिस्पर्धा गर्दा पनि पौडेल प्राधनमन्त्री बन्न सक्नुभएन । चुनावी शृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्बन्धी नियमावली नै परिवर्तन गरिएको थियो । लगत्तै भएको प्रतिस्पर्धामा झलनाथ खनालले बाजी मारे भने पौडेल पराजित हुनुभयो ।
कांग्रेसमा उपसभापति र छोटो समय कार्यबाहक सभापति भएका पौडेलले पार्टी सभापति जित्न सक्नुभएन । १३ औं महाधिवेशनमा देउवासँग पराजित हुनुभएको थियो ।
पौडेलले राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गरी करिव १५ वर्ष जेल जीवन बिताउनुभएको छ । लामो र अथक राजनीतिक सक्रियता उहाँको पुँजी हो । पटकपटक शासन सत्तामा पुग्दा पनि भ्रष्टाचार वा ठूला विवादमा नमुछिएका नेता पौडेल कांग्रेसभित्र वैचारिक चिन्तन गर्ने नेताका रुपमा चिनिन्छ ।
नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्री गरेका पौडेलका ‘प्रजातान्त्रिक समाजवादः एक अध्ययन’, ‘नेपाली कांग्रेस के भन्छ ? नयाँ सन्दर्भ’मा समाजवाद लगायत कृति प्रकाशित छन् ।