नयाँ राष्ट्रपतिको लागि आज निर्वाचन हुँदैं

भक्तपुर, फागुन २५
नेपालको नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । यसका लागि निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।
राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ प्रतिष्पर्धामा छन । नेपाली कांग्रेसका वरिष्ठ नेता रहनुभएका पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा नेपाललगायतको समर्थन रहेको छ ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका नेम्वाङलाई औपचारिकरुपमा अन्य दलले समर्थन गरेको छैन ।
मतदान सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।
निर्वाचनमा संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले मतदान गर्नेछन । संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ । मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ ।
संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो । दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।
भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः निर्वाचनमा उम्मेदवार हुन नसक्ने संविधानैक व्यवस्था छ ।